काठमाडौं । निजी क्षेत्रको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
पिपुल्सले अहिले ५३ मेगावाटको सुपरदोर्दी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । पिपुल्सले सोही करिडोरमा अर्को आयोजना निर्माण गर्न लागेको हो ।
हिमचुली दोर्दी आयोजनाका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) गर्न लागेको छ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ३३ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।
आयोजनाको डिजाइन डिसचार्ज ८.२९ घनमिटर प्रतिसेकेन्ड र हेड ७९८ मिटर रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) र लगानी जुटाउन बाँकी छ ।
आयोजना लम्जुङको दोर्दी गाउँपालिका भएर बग्ने दोर्दीखोला, दुधखोला, क्युटो र युलो खोलाको पानी प्रयोग गरेर बिजुली निकाल्ने तयारी पिपुल्सको छ ।
निर्माणधिन सुपर दोर्दीखोला आयोजनाबाट वार्षिक ३२ करोड युनिट विद्युत उत्पादन हुने छ । सुपरदोर्दीमा सानिमा बैंककको अगुवाइमा सातओटा बैंकको ऋण लगानी छ ।
आयोजनाको प्रारम्भिक कुल लागत अनुमान ८ अर्ब ८० करोड रुपैयाँ छ । आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, वज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन ।