एजेन्सी । चौधरी ग्रुपले नेपालमा फोरजी फोन सेवा भित्र्याउन चीनको हुवावे कम्पनीसँग १० करोड डलरको सम्झौता गरेको छ । हुवावेका उत्पादित वस्तुहरुमाथि अमेरिकाको प्रतिबन्धलाई बेवास्ता गर्दै सीजीले यो सम्झौता गरेको हो ।
भारतमा रियलायन्स इन्डस्ट्रिजको जियोले मोबाइल फोन बजारलाई माथि उठाएको झैं नेपालको मोबाइल बजारलाई पनि माथि उठाउने उदेश्यका साथ सीजीले यस्तो कदम चालेको सीजी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद चौधरीले बताए । सीजीले फोरजी नेटवर्कमा प्राथमिक चरणमा २५ करोड डलरको लगानी गर्ने योजना बनाएको छ ।
यसले फ्री भ्वाइस सेवा पनि समावेश गर्नेछ । तर मुख्य रुपमा डेटा, अनलाइन पेमेन्ट र अन्य सेवामा केन्द्रित रहनेछ । फोरजी सेवा लन्च गर्न हुवावेले सीजी कम्पनीलाई १० करोड डलरका उपकरण आपूर्ति गर्नेछ । ‘हुवावे अहिले सरकारी दूरसञ्चार कम्पनीसँग काम गरिरहेको छ । अब उसले हामीसँग पनि काम गर्छ,’ चौधरीले भने ।
हुवावेको प्रविधि विश्वभर फाइभजी उपकरणका लागि मुख्य प्रतिस्पर्धी हो । तर अमेरिकाले हुवावेको प्रविधिले सुरक्षामा खतरा पुर्याउने भन्दै त्यसलाई बहिष्कार गर्न अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्दै आएको छ ।
चौधरी ग्रुपले सीजी टेलिकमको प्राविधिक तथा डिजाइन सेवाका लागि टर्कीको टर्कसेलको सब्सिडियरी कम्पनी लाइफसेलसँग सम्झौता गरेको छ । उसले हुवावेसँग पूर्वाधार आपूर्तिका लागि सम्झौता गरेको हो ।
चौधरीले भने, ‘म चिनियाँ कम्पनीसँग सहकार्य गर्नमा कुनै समस्या देख्दिनँ । म चिनियाँ निर्माणकर्तासँग नै सिमेन्टको क्षेत्रमा पनि भेन्चर स्थापना गर्ने योजना बनाउँदै छु ।’ सीजीले यसअघिदेखि नै ग्रामीण क्षेत्रहरुमा सीमित दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सीजी ग्रुपले सहरसहित थप व्यापाक सञ्जाल विस्तार गर्न सीजी ग्रुपसँग लाइसेन्सका लागि अनुमति मागेको र प्राधिकरणले निर्धारण गरेको मापदण्ड पूरा गरे कुनै रोकावट नहुने बताए । हुवावे उपकरणको प्रयोगमा पनि प्राधिकरणको कुनै अवरोध नरहने उनको भनाइ छ ।
नेपालको दूरसञ्चार क्षेत्रमा ५१ प्रतिशतको बजार सेयर लिएर हाल नेपाल टेलिकम अग्रस्थानमा बजार नेतृत्व गरिरहेको छ भने त्यसपछि एनसेल र स्मार्ट सेल छन् । यसबीच चौधरीले नयाँ प्रविधि भित्र्याउने बताउँदै आगामी तीनदेखि चार वर्षसम्ममा सीजी टेलिकमले एकतिहाइ बजोर सेयर लिने बताए ।
भारतसँगै बिस्तारै एसियाभर नै आफ्नो चाउचाउ ब्रान्डको विस्तार गरेको चौधरी ग्रुपले अहिले बैङ्क, दूरसञ्चार व्यवसाय, दर्जनौं रिसोर्ट जस्ता विधिन्न व्यवसायमा लगनी गरिरहेको छ । साथै उसले भारतको ताज ग्रुपसँग साझेदारीमा माल्दिभ्समा दुई ओटा रिसोर्ट सञ्चालन गरिरहेको छ ।
राेयटर्सबाट