काठमाडौं । आर्थिक वर्ष सुरु भएयता सार्वजनिक र निजी क्षेत्रका ७ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ८७ मेगावाट बिजुली थप भएको छ ।
निजी लगानीका आधा दर्जन आयोजना सम्पन्न भई ७३ मेगावाट बिजुली उत्पादन भएको छ । यस्तै नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न भएको छ ।
निजी लगानीबाट सम्पन्न भएका आयोजनामा माउन्टेन नेपाल हाइड्रो लिमिटेडको २२.१ मेगावाटको तल्लो हेवाखोला, पशुपति इन्भारोन्टल कम्पनीको ९९७ किलोवाट, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९ मेगावाटको इवाखोला, युनाइटेड मार्दी एन्ड आरबी हाइड्रोपावरको ७ मेगावाटको अपरमार्दी, अपी पावर कम्पनी लिमिटेडको ८ मेगावाटको माथिल्लो नौगाड र अरुण कावेली पावर लिमिटेडको २५ मेगावाटको कावेली बी १ जलविद्युत आयोजना रहेका छन ।
सरकारले चालु आर्थिक वर्षमा झण्डै २ दर्जन आयोजना सम्पन्न गरेर प्रणालीमा १ हजार मेगावाट बिजुली थप्ने योजना सार्वजनिक गरेको छ । हालसम्म जडित क्षमता १ हजार २५० मेगावाट पुगेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४ मेगावाटको माथिल्लो सान्जेन र ४२ मेगावाटको मिस्त्रीखोलालगायत दुई दर्जन आयोजना सम्पन्न हुने प्रक्षेपण गरेको छ ।
माथिल्लो तामाकोसीको काम अझै बाँकी रहेकाले आउँदो असारसम्म आउने संभावना कम रहेको आयोजनाले जनाएको छ । यद्यपी रसुवागढी आयोजना असारसम्म सम्पन्न हुने गरी काम भइरहेको छ ।
यस्तै निजी लगानीमा निर्माण भइरहेका आयोजनाहरु आउने क्रममा छन । तारा म्यानेजमेन्टको लगानीमा ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाबाट हाल परीक्षण उत्पादन भइरहेको छ । बाढीले गर्दा आयोजनामा ठुलो क्षति भएपछि कम्पनीले ७ अर्ब रुपैयाँ थप लगानी गरेर पुननिर्माण गरेको हो ।