काठमाडौं । समयमै भारतबाट आउने दुई सेट डिब्बा नआउँदा जयनगर—कुर्था रेल सञ्चालनमा ढिलाइ भएको छ । ट्रेन र रेल सञ्चालनसम्बिन्ध कानून नबन्दा पनि रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।
रेल चलाउन आवश्यक कानुन र आन्तरिक तयारी अन्तिम चरणमा पुगेको र आउने बित्तिकै सञ्चालन गर्ने तयारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनले सन् २०२० जनवरी अन्तिमसम्म भारतबाट रेल आउने र फेब्रअरीदेखि रेल चलाउने योजना रहेको सुनाए ।
‘भारतबाट रेल आउन ढिला पनि भयो । रेल सञ्चालन गर्न कानुन बन्नुपथ्र्यो । कर्मचारी र आन्तरिक संरचना बनाएर मात्रै रेल चल्ने हो’ उनले भने, ‘अहिले प्रक्रियागत कुराहरु झन्डै टुङ्गिने चरणमा छन् । मन्त्रालयले कानुन क्याविनेट पठाउने तयारी गरेको छ । कानुन पारित हुने बेलासम्म रेल आइपुग्छ र आउने बित्तिकै चलाउँछौं ।’
रेल ल्याएर मात्रै नहुने भएकाले त्यसका लागि आवश्यक आन्तरिक संरचना, कानुन र कर्मचारी व्यवस्थापन भइनसकेकाले केही ढिलाइ भइरहेको महानिर्देशक मिश्रले बताए ।
रेल ट्रयाकबेड तयार भएकाले रेल आउने बित्तिकै रेल सञ्चालन गर्न आवश्यक कानुन पास हुनुपर्ने मिश्रको भनाइ छ । यसअघि जयनगर–कुर्था खण्डमा डेढ सय मिटरको ट्रयाक रेलमार्ग मर्मत र निर्माण भइरहेको मिश्रले बताए ।
पटक पटक रेल सञ्चालनको मिति तोके पनि अहिलेसम्म पनि रेल सञ्चालन हुन सकेको छैन् । भारतीय कम्पनीले खरिद गर्ने रेलमा रङरोगनका काम गरिरहेको मिश्रले बताए । उनले भने, ‘रेल निर्माण भइरहेको छ । अहिले रेलमा रङ्गरोगनको काम भइरहेको छ । अबको साढे २ रेल आइसक्छ । त्यसपछि तुरुन्त सञ्चालन गर्छौ ।’
६९ किलोमिटरको जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटर यसअघि नै निर्माण भइसकेको छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्नेछ । झन्डै १ अर्ब रुपैयाँ लागतमा नेपालले आफ्नै स्वामित्वको रेल खरिद गर्ने योजना थियो ।
जयनगर–कुर्था रेलको स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।