काठमाडौं । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ प्रदान गरेको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजकलाई चेक हस्तान्तरण गरेका हुन ।
२०७२ सालको भुकम्पले क्षती पुर्याएको मन्दिरको पुनर्निर्माण स्थानीय व्यापारी र इच्छुक व्यक्तिहरुको आर्थिक सहयोगमा बनिरहेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षणका लागि स्थानीयबाटै रुपैयाँ संकलन गररे पुनर्निर्माणको काम थालेको बताए । सरकारसँग रुपैयाँ लिएर सम्पदा पुनर्निर्माण गर्दा सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर टेन्डर प्रक्रिया मार्फत काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘टेन्डर गर्दा सबैभन्दा कम कबोल गर्नेलाई दिनुपर्छ, ठेकेदारको क्षमता र योग्यतालाई हेरिदैंन ।’
स्थानीय निर्वाचन अघि पुनर्निर्माण सुरु भएका चारवटा मन्दिरको पुनर्निर्माण अहिलेसम्म सम्पन्न नभएको बताउँदै उनले भने, ‘ हामीले भीमसेन मन्दिरलाई पाँचौ बनाउन नखोजेका हौं ,त्यसैले स्थानीयको सहयोगमा निर्माण गर्न थल्यौं ।’ यसैगरी उद्योग वाणिज्य संघले वाकाथनबाट संकलन गरेको रकम र हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रदान गरेको पाँच लाख रुपैयाँ समेत समितिलाई हस्तान्तरण गरिएको छ ।
महानगरले मन्दिर निर्माणका लागि उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्षको संयोजकत्वम भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरेको थियो । मन्दिर निर्माणका लागि गठन भएको समाजले अर्थ संकलनको लागि असोजमा वाकाथन समेत आयोजना गरेको थियो । गत चैत २४ गतेबाट मन्दिरको गजुर निकाल्ने कामसँगै भीमसेन मन्दिरको पुनिनिर्माणको काम सुरु भएको हो ।
उद्योग वाणिज्य संघले मन्दिर पुनर्निर्माणको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । मन्दिरको छानामा सुन लेपनबाहेक झण्डै ४ करोड ९३ लाख रुपैयाँ पुननिर्माणमा लाग्ने अनुमान छ । समितिका अनुसार हालसम्म करीब तीन करोड रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र कोषहरुबाट केही रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको समितिका संयोजक कृष्णलाल महर्जनले बताए ।
मन्दिर पुनर्निर्माणको लागि आवश्यक प्राविधिक सहयोग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले उपलब्ध गराएको छ ।