काठमाडौं। पछिल्लो समय बजारमा हातले बुनेका सामग्रीप्रतिको आकर्षण बढ्दो छ। मेसिनबाट बुनेभन्दा हातबुना सामग्री भिन्न र अलग प्रकृतिका हुने भएकाले पनि मानिसको यस्ता वस्तुतर्फ आकर्षण बढेको हो। घरमा सजाउन, उपहार दिन तथा आफूले उपभोग गर्न मानिसले हस्तनिर्मित सामग्रीको प्रयोग बढाउँदै लगेका छन्।
यस्ता सामग्री प्रयोगमा आकर्षण बढ्दै गएपछि बनाउने र व्यवसायको रुपमा अघि बढाउने क्रम पनि बाक्लिएको छ, पछिल्लो समय। क्रेता पाइन थालेपछि हातबुना सामग्री उत्पादन गरेर राम्रो आम्दानी लिन युवा पुस्ताले पनि चासो देखाइरहेको छ।
नेपाली मौलिकता झल्काउने भएकाले हस्तकलाका सामग्रीलाई प्रवर्द्धन गर्नुपर्ने आवाज पनि उठिरहेको छ। कतिपय युवा तथा विद्यार्थी हस्तकलाबाट नेपाली पहिचान बचाउने र व्यवसाय पनि सञ्चालन गर्ने सोचका साथ काम गरिरहेका छन्।
![startup1-1708755259.jpg](https://www.capitalnepal.com/uploads/posts/startup1-1708755259.jpg?timestamp=1708755261533)
यिनैमध्येकी एक हुन्, अस्मिता खम्बु। करिब १ वर्षदेखि हस्तनिर्मित सामान बनाउँदै आइरहेकी खम्बु हाल ख्वप कलेजमा अध्ययनरत छिन्। उनले ‘हुल्म–ह्यान्डमेट विथ लभ’ नामक व्यवसाय नै सञ्चालन गरिरहेकी छिन्। ‘हुल्म–ह्यान्डमेट विथ लभ’ले ऊनीबाट बुनेको रबर ब्यान्ड, फुल, ब्याग, डल, वालेट लगायतका सामग्री बनाउने गर्दछ।
अध्ययनलाई निरन्तरता दिँदै उनले अन्य गृहिणीा महिलाको आर्थिक आम्दानीको पाटोलाई पनि मजबुत बनाउँदै लगेकी छन्। अर्थात्, उनले हस्तकलाका सामग्री निर्माण गर्दै आएका महिलाले बनाएका सामग्रीलाई बजारीकरणसमेत गरेकी छन्।
![startup-1708755290.jpg](https://www.capitalnepal.com/uploads/posts/startup-1708755290.jpg?timestamp=1708755309163)
यसले गर्दा गृहिणीलाई समेत फाइदा पुगेको छ। घरमा बेकामे बसेका महिलालाई यस्ता सामग्री निर्माणमा पनि खम्बुले प्रेरित गर्दै आएकी छन्। विद्यार्थी तथा गृहिणीले कामकै लागि भनेर निश्चित समय छुट्याउन सक्दैनन्। यस्तो अवस्थामा फुर्सदका बेला मात्रै आर्थिक उपार्जन हुने काम पाउनु उपयुक्त हुन्छ।
आफूलाई मिलेको समय विद्यार्थी तथा गृहिणी यो काममा सहभागी हुन सक्छन्। हुल्ममा विद्यार्थी तथा गृहिणीले ‘पार्टटाइम’को रुपमा काम गरिरहेका छन्।
हुल्म–ह्यान्डमेट विथ लभ’ हालै मात्रै आइडिया स्टुडियो नेपालको कलेज आइडिया हन्ट, २०२३ को उत्कृष्ट १० आइडियामा पर्न सफल भएको छ। खम्बु बस्ने क्षेत्रमा ऊनीका सामग्री बुन्ने मानिस धेरै छन्। तर, त्यसरी सामग्री बुन्नेका लागि बजार अभाव खम्बु सक्रिय छन्।
‘स्नातक अध्ययन गर्दै गर्दा कामको आवश्यक्ता थियो। बिहान कलेज जानुपर्ने भएकाले धेरै समय दिन सक्ने अवस्था थिएन,’ खम्बु भन्छिन्, ‘मैले सोचेजस्तो काम कतै भेटिएन। यसै क्रममा अरुकहाँ काम गर्नु र आफ्नै कम्पनी हुनुको भिन्नता पनि बुझ्दै गएँ। त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँँ।’
खम्बु बस्ने क्षेत्रमा ऊनीका सामग्री बुन्ने मानिस धेरै छन्। तर, त्यसरी सामग्री बुन्नेका लागि बजार अभाव छ। यही सन्दर्भमा सामान बुन्ने मानिसबाट सामग्री लिएर त्यसलाई प्रचार–प्रसार गर्दै बिक्री गर्ने काममा खम्बु सक्रिय भएकी हुन्। हाल खम्बु सामग्री बनाउने अन्य मानिसका लागि बजार विस्तारको माध्यमसमेत बनेकी छन्। उनले बजारीकरण गरेसँगै बजारमा माग बढ्दै गएको छ।
![4-1708755343.jpg](https://www.capitalnepal.com/uploads/posts/4-1708755343.jpg?timestamp=1708755361008)
बजारीकरणका लागि खम्बुले सिजनल स्टल राख्ने, प्रदर्शनीमा सहभागी हुने तथा विभिन्न मेला र जात्रामा लगेर बिक्री गर्छिन्। केही सामग्री भने आफ्नो घरछेउ स्टल राखेर बिक्री गरिरहेकी छन्। ‘मैले अहिले अर्डर लिएर सोहीअनुसार बनाउने र बिक्री गर्ने काम गरिरहेकी छु,’ खम्बुले भनिन्, ‘यसमा हाल हाल चार जना मानिसलाई समेत जोडेकी छु।’ खम्बुले आफूसँग जोडिएका सबैले आफ्नो घरमा सामग्री लगेर बुन्ने र बिक्रीका लागि ल्याउने गरेको जानकारी दिइन्।
मासिक २० हजारसम्मको कारोबार
ख्वप कलेजमा बीबीएस दोस्रो वर्ष अध्ययनरत खम्बु बिहान कलेज जान्छिन्। यसपछि बाँकी दिउँसोको समय र खाली समय यही व्यवसायमा खर्चिन्छन्। उनको पसलमा सयदेखि हजार रुपैयाँसम्मका सामग्री छन्। यस्तै, कतिपय ठूला बुके भने त्यसभन्दा बढी मूल्यका पनि बुनिन्छन्।
सामग्री बनाउन न्युरोड, असनबाट ऊन ल्याउने गरेको खम्बु सुनाउँछिन्। ‘हुल्म–ह्यान्डमेड विथ लभ’का सामग्री अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मबाट पनि बिक्री हुने गरेका छन्।
तर, विभिन्न पसलबाट बढी मात्रामा बिक्री वितरण हुँदै आएको उनी बताउँछिन्। पछिल्लो समय बजारलाई हेर्ने हो भने उपहार दिने चलन धेरै छ। उपहारस्वरुप बजारमा हस्तकला सामानको माग उच्च देखिन्छ। यी सबै कुरालाई लक्षित गरेरै व्यवसाय सुरु गरेको खम्बुले सुनाइन्।
![3-1708755574.jpg](https://www.capitalnepal.com/uploads/posts/3-1708755574.jpg?timestamp=1708755576842)
‘हुल्म–ह्यान्डमेट विथ लभ’ हालै मात्रै आइडिया स्टुडियो नेपालको कलेज आइडिया हन्ट, २०२३ को उत्कृष्ट १० आइडियामा पर्न सफल भएको छ। सानो कारखाना खोलेर त्यहीँबाट उत्पादन र सामग्री बिक्री वितरण गर्ने योजना रहेको खम्बुले जानकारी दिइन्। यसका लागि विशेषगरी गृहिणी, कलेज पढ्दै गरेका विद्यार्थीलाई संलग्न गराएर काम गराउने उनको योजना छ।