काठमाडौं। नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने विषय महत्त्वाकांक्षी भए पनि सफल बनाउन सकिने सरोकारवालाले बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाएर स्थिर नीति बनाउन सके ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका हुन्।
कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवर्द्धन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिएको जानकारी दिए।
अर्थमन्त्री पुनले सूचना प्रविधिलाई प्राथमिकतामा राखी कानुनी आधार तयार गरी सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वका लागि उच्चस्तरीय आयोग गठन गर्ने बताए।
उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने जानकारी दिँदै कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा आईटी पार्क बनाउने योजना सरकारको रहेको उनको भनाइ छ।
कृषि, पर्यटन, ऊर्जा क्षेत्रलाई जस्तै सूचना प्रविधिसम्बन्धी सेवा उद्योगलाई निजी क्षेत्रले ‘ड्राइभ’ गर्ने बताउँदै राज्यले व्यापार गर्न नखोजेको र करका विषयमा फेरि पनि छलफल गरी सुधार गर्न सकिने बताए।
विदेशमा शारीरिक श्रमको सट्टा नेपालबाटै बौद्धिक श्रम गर्न सकिन्छ अनि आयआर्जनका लागि बिदेसिनुपर्दैन भन्ने मान्यता सूचना प्रविधि दशकले स्थापित गर्ने उनले धारणा व्यक्त गरे।
सरकारले सूचना प्रविधि क्षेत्रमा रहेका नीतिलाई पनि स्थिर र समयसापेक्ष बनाउने भन्दै डिजिटल पुस्तालाई सुहाउँदो गरी काम अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री पुनले दोहो¥याए। आईटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्न सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको धारणा उनको छ।
अरु वस्तु तथा सेवा निर्यात डेढ खर्ब पुगेको अवस्थामा आइटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके वार्षिक रुपमा ३ खर्बको निर्यातबाट आर्जन गर्न सकिने अनुभव यस क्षेत्रका विज्ञहरुको रहेको उनले बताए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने जानकारी दिइन्।
बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणले सोहीअनुरुप बजेट बनाइरहेको बताउँदै स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकारले प्रयास गरिरहेको उनले बताइन्।
काठमाडौं र बुटवलमा बन्ने सूचना प्रविधि पार्कमा निःशुल्क स्थान उपलब्ध गराउने र सार्वजनिक÷निजी साझेदारीमा विभिन्न कार्यक्रम गरिने उनको भनाइ छ।
डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसन प्रवर्द्धन, रोजगारी सिर्जना, डिजिटल गभर्नेन्स सुधारका लागि सरकारले आवश्यक नीति र कानुन परिमार्जन गर्दै अघि बढ्ने प्रतिबद्धता मन्त्री शर्माले जनाइन्।
आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने धारणा उनले राखिन्।
सूचना प्रविधिमार्फत अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने उनले स्पष्ट पारिन्। मन्त्री शर्माले २०७६ मा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्।
आइटी क्षेत्रमा १ लाख जनशक्तिले काम गरिरहे पनि सरकारसँग स्पष्ट तथ्यांक नभएकाले गाह्रो भइरहेको उनको भनाइ छ। नीतिगत अस्पष्ट र पुराना कानुन भएकाले समस्या भएको बताउँदै उनले विद्यमान कानुनले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने र त्यसका लागि कानुन सुधर्न सरकारले पहल गरिरहेको मन्त्री शर्माले बताइन्।
सार्वजनिक÷निजी साझेदारीमा ज्ञान पार्क बनाउने, स्नातक पढिरहेकालाई इन्र्टन गराउने, उद्यमशील वातावरण बनाउने, नवप्रवर्तन आयोग बनाउने कार्यहरु सूचना प्रविधि दशकका कार्यक्रम भएको पनि उनले जानकारी दिइन्। साइबर सुरक्षा नीति २०८० जारी गरिएको र नयाँ कानुन बनाउन सबैको सहयोग र सुझाव आवश्यक भएको धारणा उनले व्यक्त गरिन्।
कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले विगतमा ल्याइएको पर्यटन र ऊर्जा लक्ष्यबाट देखिने गरी लाभ लिन नसकिरहेका बेला सूचना प्रविधि दशकको सफल कार्यान्वयनमा जोड दिए।
कार्यपत्र प्रस्तुत गर्दै आइआइडिएसका परामर्शदाता डा. अमृता शर्माले डिजिटलाइजेसन म्याजिक नभएकाले राजनीतिक प्रतिबद्धतासहित स्थिरता आवश्यक रहेको धारणा राखिन्।
यो वर्ष प्रविधि दशकको प्रस्थान वर्षको रुपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने बताइन । उनले भनिन्, ‘आइटी दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवर्द्धक र सम्वर्द्धकका रुपमा बस्नुपर्दछ।’ नेपालको प्रविधि उद्योगलाई विश्वभरि पु¥याउन दूतावासले भूमिका खेल्नुपर्ने उनको धारणा छ।
नेपालमा अहिले १० हजार प्रतिवर्ष आइटी जनशक्ति उत्पादन भइरहेको र १ खर्बको सेवा निर्यात भइरहेको जानकारी उनले दिइन्।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशक घोषणा महत्त्वाकांक्षी लक्ष्य नभई आइटीमा भइरहेको प्रगतिले योजना भएको बताए। आइटी विज्ञ र उद्यमीसँग छलफल गरेर ल्याइएको योजना भएकाले लक्ष्य प्राप्ति सहज हुने उनले स्पष्ट पारे।
लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले सरकारले लिएको लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आकलन सुनाए। यो क्षेत्रमा सहजता भए लगानी गर्न निजी क्षेत्र तयार रहेको उनले स्पष्ट पारे।
नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मञ्च अध्यक्ष मनोज पौडेलले अहिले आइटी क्षेत्रको विकास १६.८९ प्रतिशत वृद्धि भइरहेको बताउँदै लक्ष्य हासिल गर्न ३६ प्रतिशत वृद्धि आवश्यक रहेको जानकारी दिए।
किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउगाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्ने मात्र नभई चलाउन प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाइ छ।