काठमाडाैं। उद्यमशीलता र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर स्थापना भएको पोखरास्थित रेडियो जननी ९०.६ ले हरितालिका तिज अवसरमा आयोजना गरेको ‘जननी तिज संवादः उद्यमीका आवाज’ कार्यक्रममा महिला उद्यमीले आ–आफ्ना उद्यमशीलताका यात्रा अनुभव सुनाए। उनीहरुले संवाद कार्यक्रममार्फत उद्यमशीलता क्षेत्रमा भोगेका चुनौती, सफलताका सूत्र र भविष्यका योजना सुनाएका हुन्।
मनखुसी मल्टिपर्पोज प्रालिका सञ्चालक काशी गुरुङले उद्यमशीलता क्षेत्रमा सुरुआती कठिनाइ र संघर्षका दिनलाई स्मरण गर्दै २० केजी मकैले आफ्नो जीवनमा उद्यमीको परिचय बनाउन सफल भएको बताइन्। २०७० बाट भुटेको मकै, चिउरा, बदाम, मकै, कोदो, फापर, सातुका उत्पादनलाई बजारीकरण उद्यमशील यात्रामा निरन्तर अघि बढेको अनुभव उनले व्यक्त गरिन्।
पोखरा–६ लेकसाइडमा सन्तोषीमाता हस्तकला उद्योग सञ्चालन गर्दै आएकी अर्का सञ्चालक पम्फा थापाले महिला उद्यमशीलताका लागि नीति तथा संरचनामा अझ सुधार गर्नुपर्नेमा जोड दिँदै आफ्नो हस्तकला उद्योगमार्फत स्थानीय स्तरमा स्वरोजगार अवसर सृजना गरिरहेको बताइन्।
सीपसँग रमाउन मन पराउने अर्का उद्यमी रजनी चापागाईंले पनि पे्ररणादायी अनुभव सुनाइन्। अरुले कटिङ गरेका पेटीकोट ३ रुपैयाँमा ज्यालामा सिलाउँदै सीपसँग जोडिएकी चापागाईंले आज ३० ÷३५ जनालाई रोजगार दिन सफल भएकामा सन्तुष्टि मिलेको धारणा व्यक्त गरिन्।
रक्षा चापागाईं स्टोर्सबाट व्यवसाय सञ्चालन गरिरहेकी चापागाईंले ढाकाका विभिन्न पोसाक तयार गरी व्यवसाय गर्दै वैदेशिक रोजगारमा गएका श्रीमानलाई समेत नेपाल फर्काएर अहिले सफल व्यावसायिक जीवन बिताएको सुनाइन्।
जननी तीज संवाद कार्यक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी बस्नेतलाई प्रदेशको विकासमा र महिला सशक्तीकरण योगदान पुर्याएको भन्दै रेडियोले जननी सम्मान २०८१ बाट सम्मान गरियो।
प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य एवं पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. शान्ता खत्रीले तिज पर्वको ऐतिहासिक र आधुनिक पक्षबारे धारणा राख्दै महिलालाई सामाजिक परिवर्तनको संवाहकका रूपमा उभिन प्रेरित गरिन्।
रेडियो जननीका संस्थापक अध्यक्ष हिरा भट्टराई रेडियोले पहिलो आवाज उद्यमशीलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानताका लागि उद्घोषसहित सञ्चालित भएको जनाउँदै तिजलाई उद्यमशीलतासँग जोडन उद्यमीका आवाज कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
रेडियो जननीकी सिनियर कार्यक्रम प्रस्तोता एवं कार्यक्रम संयोजक जमुना वर्षा शर्माले महिला उद्यमशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन्। उनले महिला उद्यमीका आवाजलाई बुलन्द गर्दै समाजमा सशक्तीकरण र उद्यमशीलताको नयाँ दृष्टिकोण प्रस्तुत गर्न उद्यमीका आवाज कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखिन्।