काठमाडौं । भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई लगानी जुटेको छ । नेपाल र भारतका बैंकहरुबीच आउँदो बिहीबार काठमाडौंमा ऋण लगानी सम्झौता हुने भएको छ । नेपाली र भारतीय गरी आधा दर्जन बैंकले झण्डै १ खर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन ।
ऋण सम्झौता हुन लागेका अरुण तेस्रो नेपालको हालसम्मकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । प्रर्वद्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र लगानीकर्ता बैंकबीच बिहीबार ऋण सम्झौता हुने तालिका तय भएको छ ।
अरुण तेस्रोमा नेपालका नविल बैंक, एभरेष्ट बैंकले १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लगानी गर्नेछन । नेपाली बैंकले आयोजनालाई अपुग (ब्रिजलोन) दिने भएका हुन ।
प्रोजेक्ट फाइनान्सिङ्गमा नयाँ मोडेल : अरुण तेस्रो आयोजनाको ऋणको ब्याज पुँजीकरण नहुने, कर्जा लिएको महिनादेखि भुक्तानी
भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने छन ।
भारतीय बैंकहरुले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने छन । स्वपुँजी (इक्विटी) का रुपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।
आयोजनाले बैंकबाट ऋण लिएको महिनादेखि नै ब्याज तिर्ने भएको छ । नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा ऋण लगानी सम्झौता हुन लागेको एसजेवीएन स्रोतले बतायो । स्रोतका अनुसार भारतीय र नेपाली बैंकसंग एसजेवीएनले एकसाथ ऋण लगानी सम्झौता गर्ने छ ।
ऋणको ब्याज साढे ८ प्रतिशत छ । एसबीआई त्यहाँको सरकारी बैंक हो । भारुमा ऋण ल्याउन भारतीय रिजर्व बैंक (आरबीआई) ले अनुमति दिइसकेको छ । हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
अरुण तेस्रो जलविद्युतमा भारतीय बैंकबाट ८६ अर्ब ऋण ल्याँइदैै, स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंसँग ऋण सम्झौता भइसकेको छ ।
अरुण तेस्रोमा भारतको एसबीआई, नेपालका नबिल र एभरेस्ट बैङ्कले लगानी गर्दै, ८० अर्ब ऋण सम्झौता अन्तिम चरणमा
एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।आयोजना सम्पन्न भएपछि नेपालले झण्डै २०० मेगावाट निशुल्क बिजुली पाउने छ ।