काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनालाई आगामी डेढ महिनाभित्र लगानी जुट्ने भएको छ । मुख्य लगानीकर्ता स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) र आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच ऋण लगानीका सम्झौताको ड्राफट तयारी सुरु भएको छ ।
केही प्राविधिक र कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेकाले ढिलोमा डेढ महिनाभित्र एसबीआईसँग ऋण सम्झौता हुने एसजेबीएनका देशीय निर्देशक हरिराम सुवेदीले बताए । ‘ऋण सम्झौताका लागि प्राविधिक र कानुनी काम अघि बढेका छन्, केही दिनभित्र सम्झौता हुनेछ,’ उनले भने ।
आयोजनामा वैदेशिक लगानी आउने भएकाले ऋण सम्झौता हुने ड्राफटको नेपाल राष्ट्र बैङ्क र लगानी बोर्डले अध्ययन गर्नुपर्ने भएकाले केही समय लाग्ने उनको भनाइ छ ।
एसजेबीएनले एसबीआईबाट ४१ अर्ब भारु अर्थात् ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिँदै छ । एसबीआईले सहवित्तीयकरणमा लगानी गर्न अन्य बैङ्कसँग पनि छलफल अघि बढाएको उनले जानकारी दिए । एसबीआईसँग ऋण सम्झौता हुनासाथ नेपालका नबिल र एभरेस्ट बैङ्कसँग हुनेछ । नबिल र एभरेस्टले गरी ९ अर्ब भारु अर्थात् १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्न गत मार्चमा सहमतिपत्र (एमओयू) गरेका छन् ।
भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात् ५० अर्ब भारु ऋण लिनेछ ।
‘आयोजनको काम अघि बढाउन पैसाको समस्या छैन, त्यही भएर ऋण लिन ढिलाइ भएको हो,’ सुवेदीले क्यापिटल नेपालसँग भने, ‘बैङ्कसँग ऋण सम्झौताबिनै आयोजनाको २० प्रतिशत काम सकिएको छ ।’
एभरेस्टमा भारतको पञ्जाब नेसनल बैङ्कको मुख्य लगानी छ । एभरेस्टले प्रसारणलाइनमा लगानी सम्झौता गरिसकेको छ । आयोजनाको विद्युत् गृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपालका नबिल र एभरेस्ट बैङ्कले ऋण लगानी गर्नेछन् । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । नेपालको एभरेस्टले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात् २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैङ्कसँग पनि ८ अर्ब रुपैयाँ अर्थात् ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन खर्च हुनेछ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात् सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउनेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथीभरा तथा विद्युत् गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत् गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।
प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।
प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकेजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युत् गृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।
भारत सरकारले अरुण तेस्रोको ४०० केभी क्षमताको प्रसारणलाइन आयोजनालाई स्वीकृति गरेको छ । यसअघि भारतले आयोजना बनाउन ९० अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।
सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबर हुँदै नेपाल र भारतको सिमाना बथनाहसम्म प्रसारणलाइन निर्माण हुनेछ । प्रसारणलाइन बनाउन १२ अर्ब ३६ करोड १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भारत निकासी प्रयोजनका लागि अरुण तेस्रो आयोजना निर्माण सुरु भएको हो ।