काठमाडौं। थकाली समुदायको थाकथलोका रुपमा परिचिति मुस्ताङको मार्फा गाउँको झल्को दिलाउने गरी बालुवाटारमा मेलुङ थकाली सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वर्षअघि सञ्चालनमा आएको मेलुङ थकालीको आठौँ आउटलेटको रुपमा बालुवाटारमा मेलुङ थकाली सञ्चालनमा ल्याइएको सञ्चालक बसन्त लामाले जानकारी दिए।
दोलखाको मेलुङ गाउँपालिका ३ घ्याङसुकाठोकरका वडाध्यक्षसमेत रहेका लामा द बर्गर हाउसका सञ्चालकसमेत हुन्। आफ्नो गाउँलाई ब्राण्डिङ गर्ने उद्देश्यका साथ २ वर्षअघि मेलुङ थकाली नामाकरण गरिएको उनले बताए।
बालुवाटारमा रहेको मेलुङ थकालीमा मेलुङ गाउँपालिकाको ७ वटै वडाको नाममा कोठा बनाइएको छ। गाउँलाई सहरमा ब्राण्डिङ गर्ने उद्देश्यका साथ रेष्टुरेन्टका कोठाहरुको नामाकरण गरिएको हो। जहाँ, पवटी, सुकाठोकर, घ्याङ, भेडपु, डाडाखर्क, मेलुङ र विरौटा नाम राखिएको छ।

यस्तै, मार्फासहित हिमाली गाउँको झल्को दिने गरी दाउरा, माने, ढुंगालगायतका संरचना राखिएको छ। खाना खान आउनेलाई थकाली समुदायकै घरमा पुगेको आभास हुने गरी भित्ताहरु सजावट गरिएको छ। खानाका लागि प्रख्यात मुस्ताङको थकाली समुदायलाई झल्को दिने गरी आफ्नो गाउँको ब्राण्डिङसमेत गरिएको सञ्चालक लामाको भनाइ छ।
‘यो विशुद्ध खाना खाने ठाउँ मात्र हैन, रिफ्रेसमेन्ट गर्ने प्रमुख थलो पनि हो,’ उनले भने, ‘बालबालिकालाई खेल्ने ठाउँदेखि मिटिङ गर्न आवश्यक हलहरुसमेत छ।’
३ करोड लगानी
आठौं आउटलेटको रुपमा सोलो थकाली मात्र सञ्चालनमा ल्याइएको मेलुङ थकालीमा ३ करोड लगानी भएको जनाएको छ। आन्तरिक र विदेशी पाहुनालाई लक्षित गरी इटालियन र अमेरिकी परिकारलाई पनि जोड दिइएको उनको भनाइ थियो।

बिहान ८ बजेदेखि खुल्ने भएकाले खानासँगै बिहानको ब्रेकफाष्टका लागि गतिलो ठाउँका रुपमा मेलुङ थकालीलाई बनाउन खोजिएको उनले बताए। बालुवाटार क्षेत्रमा सञ्चालनमा रहेका रेष्टुरेन्टमध्ये सबैभन्दा बढी पार्किङ स्पेश रहेको छ। रेस्टुरेन्टले माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसारलगायत खाद्य सामाग्री दोलखाबाटै खपत गर्दै आएको उनले बताए।
एकसाथ २५० जनाभन्दा बढीले खाना खान सक्ने क्षमता भएको रेष्टुरेन्टमा ३० भन्दा बढी गाडी पार्किङ गर्न सकिने जनाएको छ। यस्तै रेष्टुरेन्टमा चार्जिङसमेत राख्ने तयारी थालिएको छ।
‘भित्र पेटको र बाहिर गाडीको चार्ज गर्ने गन्तव्य मेलुङ थकाली बनाउन लागेका छौं,’ सञ्चालक लामाले भने, ‘रेस्टुरेन्टमा एक सयभन्दा बढी परिकारसहित तामाकोशीको माछा र फापरको ढिडोलाई विशेष परिकारको रुपमा राखेको छ।’

एयरपोर्ट, शंखमुल, गठ्ठाघर, बनेपा, बौद्ध, अत्तरखेलमा सञ्चालनमा आइसकेको छ। निकट भविष्यमा ललितपुर र माच्छापोखरीमा पनि आउटलेट विस्तार गर्ने योजना रहेको उनले बताए।



