काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलाताको विकास गर्नुपर्ने बताएका छन्। महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य-क्रान्ति आत्मकथाको विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए। उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए।
'हाम्रो समाज शृङ्गार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुने खानेका लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो। सौन्दर्य कलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ,' उनले भने।
अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्नो व्यवसायको माध्यमबाट हजारौँलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताए। महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योस्ना श्रेष्ठ र महासंघका पूर्वउपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेका लागि प्रेरणाको स्रोत भएको बताए।
पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले उनीसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भइरहेको जानकारी दिइन्। पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गदर्शन गर्ने अपेक्षा राखेको बताइन्।
उनले यो आफ्नो आत्मकथाभन्दा पनि उद्यमशीलताको कथा भएको बताएकी थिइन्। महासंघका केन्द्रीय सदस्य तथा महिला उद्यम समितिका सभापतिसमेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेख समावेश रहेको लेखन कुञ्जका सञ्चालक कमल ढकालले जानकारी दिए।