काठमाडौं। जिल्ला प्रशासन काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा छापा मारेको छ।
खाद्य गोदामले ब्रान्डेड कम्पनीका बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा संयुक्त रुपमा गोदाममा छापा हानेर सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताएका हुन्।
गोदाम सञ्चालकले ब्रान्डेड ३१ कम्पनीका चामलको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ। संयुक्त टोलीले मनमैजुमा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५१६ बोरा चामल र १ हजार ४३ बोरा चिउरासहित गोदाम सिल गरेको छ।
यस्तै, नागार्जुन नगरपालिका–६ भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आँटा ११ बोरा र दालसहित गोदाम सिल गरिएको छ।
प्रहरीका अनुसार नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको गढीमाई प्याकेजिङ उद्योगमा ४७५ बोरा गुणस्तरहीन चामल फेला परेको छ। कुलेश्वरमा ठेगाना भए पनि सिंहले नागार्जुनमा गोदाम सञ्चालन गरेको भेटिएको छ।
गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७०५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरासहित गोदाम सिल गरिएको छ। स्थानीय प्रशासनसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम सिल गरेका हुन्।