सांघाई, चीन। विश्व अटो बजारको ध्यान तानेको सांघाई अटो शो २०२५ अहिले चीनको सांघाई सहरमा जारी छ। हरेक दुई वर्षमा आयोजना हुने यो अटो शो संसारकै सबैभन्दा ठूलो र प्रभावशाली अटो प्रदर्शनीहरूमध्ये एक हो।
यस पटकको संस्करणमा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय र चिनियाँ कम्पनी सहभागी छन्। जसले विद्युतीय सवारी साधन, हाइब्रिड मोडेल, स्वचालित ड्राइभिङ प्रविधि र स्मार्ट कनेक्टिभिटी जस्ता अत्याधुनिक प्रविधिहरू प्रस्तुत गरिरहेका छन्।
नयाँ-नयाँ प्रविधि जडान गरिएको विविध प्रकारका सवारी साधनहरू प्रदर्शनमा राखिएकोले अटो शो हेर्न पुगेका हजारौँ दर्शक मात्र नभई विश्वभरका अटो व्यवसायीको पनि आकर्षण बढेको छ। धेरैले यी नयाँ मोडेल कति छिटो बजारमा उपलब्ध हुन्छन् भन्ने उत्सुकता व्यक्त गरिरहेका छन्।
चीनले विद्युतीय सवारी साधन उत्पादनमा विश्वव्यापी प्रभुत्व जमाउँदै आएको छ। पछिल्ला वर्षमा नेपालजस्ता उदीयमान बजारमा समेत यसको प्रभाव बढ्दो छ। यही कारण, यस पटकको अटो शो नेपाली व्यवसायी र अटो प्रेमीहरूका लागि पनि अत्यन्त आकर्षक बनिएको छ।
उनीहरू आफ्ना कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै चिनियाँ निर्माताहरूसँग व्यवसायिक सम्झौता गर्न तछाडमछाड गरिरहेका छन्।
नेपालका व्यवसायी नयाँ ब्राण्ड र नयाँ प्रविधियुक्त गाडी नेपाल भित्र्याउन उद्धत देखिएका छन्। शोमा भाग लिएका नेपाली व्यवसायीहरूका अनुसार, नेपाली सडकका लागि उपयुक्त मोडेल पहिचान गर्न तीव्र प्रतिस्पर्धा भइरहेको छ।
कतिपय व्यवसायीहरूले त विभिन्न गाडी उत्पादक कम्पनीहरूसँग पहिलो चरणको डिलसमेत अघि बढाइसकेका छन्। विद्युतीय र हाइब्रिड गाडीको माग नेपालमा तीव्र गतिमा बढिरहेका बेला, धेरै पुराना तथा नयाँ व्यवसायीहरू चीन पुगेर नयाँ ब्राण्डको खोजीमा लागेका छन्। उनीहरू आफ्ना कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै चिनियाँ निर्माताहरूसँग व्यवसायिक सम्झौता गर्न तछाडमछाड गरिरहेका छन्।
एक नेपाली व्यवसायीले भने, “हरेक वर्ष यो अटो शोमा यस्तै प्रतिस्पर्धा हुन्छ। व्यवसायीहरू आफ्नो प्रोफाइल देखाउँदै चिनियाँ कम्पनीहरूलाई प्रभाव पार्न कोशिस गर्छन्। चिनियाँ कम्पनीहरूले पनि धेरै व्यवसायीक डिलहरु यिनै मेलामा गरिरहेका हुन्छन्।”
नेशनल एक्सिबिशन एण्ड कन्वेन्सन सेन्टर, सांघाईमा २१ अप्रिलदेखि डेढ साता जारी अटो शोमा एक हजार कम्पनी छन्। शोमा प्रमुख प्रविधि: लेभल ३ स्वचालित ड्राइभिङ, १५००ं किमी रेञ्ज भएका ईभी मोडेलहरू, अति छिटो चार्ज हुने प्रणाली हाइड्रोजनबाट चल्ने प्रविधि छन्।
नेपाली व्यवसायीहरूले समेत यी ब्राण्डहरूमध्ये केहीलाई नेपाल भित्र्याउने लक्ष्यसहित सांघाई अटो शोमा सक्रियता देखाइरहेका छन्।
सांघाई अटो शो २०२५ मा विश्वका चर्चित अटो ब्राण्डहरू जस्तै टेस्ला, बिवाईडी, निओ, एक्सपेङ्ग, जिकर, हुवावे, गिली, हुण्डाई, टोयोटा, फक्सवागन, चाङ्गान, एमजी, काइयी र चेरी लगायतले आफ्नो नवीनतम प्रविधि र नयाँ मोडेलहरू प्रदर्शन गरिरहेका छन्।
विद्युतीय तथा हाइब्रिड सवारी साधनमा केन्द्रित यी ब्राण्डले नयाँ डिजाइन, उन्नत ब्याट्री प्रविधि, उच्च सुरक्षा सुविधा र स्मार्ट कनेक्टिभिटी जस्ता विशेषता समावेश गरेका छन्। चीनका ब्राण्डहरू विशेषगरी बाइवाईडी, निओ, एक्सपेंग, जिकर र चेरीले विश्व बजारमा आफ्नो प्रभुत्व बढाउँदै लगिरहेका छन् भने टोयोटा, हुण्डाई, फक्सवागनजस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूले पनि नयाँ विद्युतीय मोडेलमार्फत प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाली व्यवसायीहरूले समेत यी ब्राण्डहरूमध्ये केहीलाई नेपाल भित्र्याउने लक्ष्यसहित सांघाई अटो शोमा सक्रियता देखाइरहेका छन्।