काठमाडौं । चालू आर्थिक वर्षको बजेटअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधन अझै स्टकमा थन्किएका छन्। बजेटमा कर बढ्ने त्रासले ठूलो संख्यामा आयात गरिएका विभिन्न कम्पनीका विद्युतीय गाडी महिनौँदेखि बिक्री नभई गोदाममै थन्किँदा व्यवसायी स्टक सकाउन आकर्षक छुट र विभिन्न योजना ल्याउन बाध्य भएका छन्।
नेपाली बजारमा विद्युतीय गाडीको लहर भए पनि नयाँ मोडल निरन्तर आइरहने र प्रविधि द्रुत गतिमा अपडेट भइरहने भएकाले पुराना मोडलका स्टक बेच्न व्यवसायीहरू संघर्ष गरिरहेका छन्। बजेटअघि ल्याइएका टाटा, एमजी, जिकर, हुन्डाई, हेनरी भोल्ट्स, स्काइवेल, बिएमडब्लू लगायतका ब्रान्डका स्टक अझै बाँकी रहेका छन्।
धेरै ब्रान्डले स्टक नसकिएका कारण विभिन्न योजनामार्फत ग्राहक आकर्षित गर्न खोजिरहेका छन्। केही कम्पनीले चाडपर्व र विशेष अवसरलाई लक्षित गरी समय-समयमा योजना दिने गरेका छन्।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी बजेटमा ल्याइएका गाडीको केही स्टक बाँकी भएकाले अहिले नगद छुट तथा एक्सचेन्ज क्याम्प गरिरहेको बताउँछन्। उनले भने, "अहिले हामीले बजेट अघि ल्याएका स्टकका गाडी नै बेचिरहेका छौं। त्यसैकारण नगद छुट दिएका हौं। नयाँ आयात पनि गरिरहेका छौं तर स्टकका गाडीमा विशेष नगद छुट दिइरहेका छौँ।" उनका अनुसार स्टकका गाडीमा विभिन्न खालका प्रस्ताव र नगद छुट दिइरहेको छ।
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले बजेटअघि धेरै गाडी भन्सार छुटाएकाले अहिले पनि त्यही बिक्री भइरहेको बताउँछन्। उनले थपे, "बजेटअघि हामीले धेरै गाडी छुटाएका थियौँ। अहिले त्यही बिक्री गरिरहेका छौँ। अझै त्यो गाडीको केही स्टक बाँकी नै छ। अब भने लगभग सकिन लागेको छ।" बजेट अघि धेरै गाडी आयात गरेकाले तीमध्ये केही अझै स्टकमा बाँकी रहेको उनको भनाइ छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले बजेटअघिका केही युनिट गाडी स्टकमा अझै रहेको बताए। उनले भने, "बजेट अघिका केही युनिट गाडी पनि बाँकी छन्। अहिले पनि हामीले आयात गरिरहेका छौँ।"
नेपालका लागि हेनरी भोल्ट्सका आधिकारिक वितरक एसक्यूब इन्टरप्राइजेजका प्रबन्ध निर्देशक शम सापकोटा बजेट अघि र पछि ल्याइएका गाडी स्टकमा अझै भएको बताउँछन्। उनले आफूहरूले बजेटअघि र पछि ल्याएका गाडीहरू अझै स्टकमा रहेको बताउँदै अहिले भ्यालेन्टाइनका लागि नगद छुट र अन्य योजना दिएको बताए। अहिले अटोमोबाइल बजारमा एकदमै धेरै प्रतिस्पर्धा भएकाले गाडीको बिक्री कम छ। खासै राम्रो व्यापार नभएको उनको भनाइ छ। स्टक सकाउनकै लागि विभिन्न खालका छुट तथा योजना दिइरहेको उनले बताए।
केही ब्रान्डहरूले सीमित अवधिका लागि विशेष छुट योजना घोषणा गरेका छन्।
हाल बजारमा विशेषगरी ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीको माग उच्च छ। बिक्री पनि यही खण्डमा बढी भएको देखिन्छ। अहिले ह्याचब्याक खण्ड र १०० किलोवाटभन्दा माथिका गाडी धेरै स्टकमा भएको व्यवसायीहरू बताउँछन्।
केही ब्रान्डहरूले सीमित अवधिका लागि विशेष छुट योजना घोषणा गरेका छन्। नगद खरिदमा आकर्षक छुट, पुरानो गाडी साटासाट गर्दा अतिरिक्त मूल्याङ्कन, निःशुल्क बिमा तथा एक वर्षसम्म निःशुल्क सर्भिस जस्ता सुविधा दिइरहेका छन्। साथै, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने प्रयास गरिरहेका छन्।
नेपालको अटोमोबाइल क्षेत्रका लागि जेठ महिना सधैँ 'पर्ख र हेर' को समय हुने गर्दछ। आगामी आर्थिक वर्षको बजेटले करका दरहरूमा कस्तो हेरफेर गर्ला भन्ने त्रास र आशाबीच व्यवसायीहरू छटपटाइरहेका हुन्छन्। जसका कारण जति सकिन्छ धेरै सवारी साधन आयात गर्ने गरिन्छ। कम्पनीहरूबीच कसले धेरै गाडी आयात गर्ने भन्ने होडले गाडी लामो समयसम्म स्टकमा बस्ने अवस्था सिर्जना भएको छ।
यसले नेपाली अटोमोबाइल बजारमा दुई वटा प्रमुख समस्या उत्पन्न गरेको छ। पहिलो, बजेटको अनिश्चितताले व्यवसायीलाई जोखिमपूर्ण निर्णय लिन बाध्य बनाएको छ। दोस्रो, द्रुत गतिमा परिवर्तन हुने प्रविधि र नयाँ मोडलहरूको निरन्तर आगमनले पुराना स्टकको मूल्य घटाउँदै लगेको छ। यसले व्यवसायीहरूलाई आर्थिक दबाबमा पारेको छ र उपभोक्ताले पनि नयाँ प्रविधियुक्त गाडीको पर्खाइमा खरिद स्थगित गर्ने गरेका छन्।