काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ। आज पुनः एक सूचना जारी गरी प्राधिकरणले महसुल नतिरेका उद्योगहरूलाई प्रशासकीय पुनरावेदन गर्न जेठ मसान्तसम्मको समय दिएको हो।
प्राधिकारणले सञ्चालक समितिको मिति वैशाख २१ को निर्णयअनुसार म्याद गरिएको जनाएको छ। यसअघि वैशाख २६ गते प्राधिकरणले सूचना जारी थियो। ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम महसुल रकमको ५ प्रतिशत बराबरको रकम वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरोटीबापत जम्मा गरी विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको वैशाख २१ को निर्णयअनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ।
चैत २९ गते प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई प्रशासकीय पुनरावेदनमा बोलाएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले काटेको बिल नै चित्त-बुझ्दो नभएको भन्दै पुनरावेदनमा जान अस्वीकार गरेका थिए।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गर्ने ग्राहकहरूलाई २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुलको बक्यौतामा उल्लेखनीय राहत दिने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार ती ग्राहकहरूले २०८२ जेठ मसान्तभित्र आफ्नो सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा वा सो बराबरको ‘क’ वर्गको बैंकबाट जारी गरिएको एक वर्ष म्यादको बैंक ग्यारेन्टी धरौटी स्वरूप जम्मा गरेमा पाँच प्रतिशत (५%) छुट प्राप्त गर्ने छन्।
यो व्यवस्था नेपाल विद्युत वितरण विनियमावली, २०६९ को विनियम ५५ को उपविनियम (२) बमोजिम गरिएको हो। यसका साथै, प्राधिकरणले सोही विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिने समयसीमा पनि तोकेको छ। यो निर्णय नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले गरेको हो।
यो घोषणाले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिइरहेका ठूला ग्राहकलाई विगतको विद्युत खपतको बक्यौता व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ। प्राधिकरणले योग्य ग्राहकहरूलाई तोकिएको समयभित्र यो सुविधाको लाभ उठाउन आग्रह गरेको छ।