काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४९६५ मेगावाट विद्युत उत्पादन लागि विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्ने भएको छ। देशभरका १० मेगावाटभन्दा बढी क्षमता भएका ५४ वटा जलविद्युत आयोजनासँग प्राधिकरणले बुधबार सूचना जारी गर्दै पीपीएको लागि आग्रह गरेको थियाे।
यी आयोजनामध्ये ३८ वटा नदीप्रवाह (आरओआर)मा आधारित छन् भने १६ आयोजना जलशाययुक्त (पीओआर)हुन्। प्राधिकरणकाअनुसार आरओआर आधारित १ हजार ८५८ मेगावाट क्षमता र पीओआरमा आधारित ३ हजार १०७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको पीपीए गरिने प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकार बताउँछन्।
नेपालमा ४९६५ मेगावाट विद्यूत उत्पादन गर्नका लागि करिब ११ खर्ब ४८ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ।
लगानीकर्ताका अनुसार आरओआर प्रविधिबाट विद्युत उत्पादन गर्दा प्रतिमेगावाट विद्युत उत्पादन गर्दा औषतमा २० करोड रुपैयाँ लागत लाग्छ। सोही आधारमा १ हजार ८५८ मेगावाट विद्युत निकाल्दा ३ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ लागत हुन आउँछ।
पीओआर प्रविधिबाट विद्युत उत्पादन गर्दा प्रतिमेगावाट औषतमा २५ करोड रुपैयाँ लागत लाग्छ। यसलाई आधार मान्ने हो भने ३ हजार १०७ मेगावाट विद्युत निकाल्न ७ खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने देखिन्छ।
प्राधिकरणले हालै प्रकाशित गरेको सूचना अनुसार २०८१ साल चैत १२ गतेसम्म ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएका १० मेगावाटभन्दा माथिका विभिन्न जलविद्युत आयोजनाहरुको पीपीए प्रक्रिया अगाडि बढाइनेछ।
प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यले जलविद्युत् आयोजनाका पीपीए खुलाएका छन्। चैत १२ को प्राधिकरण सञ्चालक समिति बैठकले बन्द पीपीए प्रक्रिया पुनः सुरु भएसँगै निजी जलविद्युत् विकासकर्ताले राहत महसुस गरेका छन्।
प्राधिकरण सञ्चालक समितिको निर्णयले एकातर्फ रोकिएका आयोजनाको निर्माण अघि बढ्न सक्ने देखिन्छ भने अर्कातर्फ ऊर्जा क्षेत्रमा नयाँ लगानी वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। अर्थ विश्लेषक अरुण सुवेदीले पीपीए खुलेसँगै केवल विद्युत् क्षेत्रमा मात्रै फड्को मार्दैन,समग्र अर्थतन्त्रमै कायापल्ट ल्याउन सक्ने बताए।
वर्षौंदेखि रोकिएको पीपीए खोल्ने निर्णयले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा आशाको सञ्चार पलाएको छ। नेपालको ऊर्जा क्षेत्रलाई फस्टाउन दिन र यसको पूर्ण क्षमता उपयोग गर्न पीपीएलाई पूर्ण रूपमा उदार बनाउनु आवश्यक रहेको उनको तर्क छ।
पीपीएका लागि ३० दिनभित्र प्राधिकरणको विद्युत व्यापार विभागमा सम्पूर्ण कागजात र विवरण पेस गर्न भनिएको छ।
आयोजनाले निवेदन दिँदा कम्पनी दर्ताको प्रमाणपत्र, प्यान दर्ताको प्रमाणपत्र, कम्पनीको प्रबन्ध पत्र, कम्पनीको नियमावली, उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत सर्वेक्षणको अनुमतिपत्र, सेयर लागत विवरण, आयोजना निर्माणको तालिका, ग्रिड कनेक्सन एग्रिमेन्ट लगायत कागजात पेस गर्नु पर्नेछ।