काठमाडौं । यो सातादेखि अमेरिकी डलर निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर ११७ रुपैयाँ ५७ पैसा बिक्रीदर तोकेको छ । मंगलबार डलरको भाउ ११६ रुपैयाँ ६६ पैसा थियो । पछिल्लो समय ११४ देखि ११५ रुपैयाँमा रहेको डलर यो साता निरन्तर उकालो लागेको छ ।
भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७२ रुपैयाँ २४ पैसा भारु तोकेको छ । भारुसंग स्थिर विनिमयदर कायम भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपालमा परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलर नै सुरक्षित लगानीको क्षेत्र देखिएकाले भाउ उकालो लागेको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । पछिल्लो समयमा विश्व बजारमा कच्चा तेलको भाउ निरन्तर घट्दै गएका, सुनले पनि लगानीकर्तालाई तान्न नसकेको र वस्तु विनिमय र सेयर बजार पनि असुरक्षित देखिएका कारण डलर मजवुत हुन गएको उनको भनाई छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याजदर ०.५ विन्दुले घटाउँदा पनि लगानीकर्ता डलरतर्फ आर्कर्षित भएको उनको भनाई छ । ‘फेडरले रिजर्वले ब्याजदर १.५ बाट घटाएर १.५२ प्रतिशतमा झारेको छ ।
तर, पनि लगानीकर्ता डलरमै विश्वस्त देखिएका छन’ उनले भने ‘अमेरिकी अर्थतन्त्र झनै मजवुत हुन गएको देखिएको छ ।’ ब्याजदर घटेर प्रतिफल कम आउँने भए पनि अहिले लगानीकर्ता डलरतर्फ आर्कर्षित भएको उनको तर्क छ ।
केही हदसम्म कोरोना भाइरसका प्रभाव विश्व अर्थतन्त्र देखिएको छ । डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आप्रवाहमा वृद्धि भए पनि आयात महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने भट्टको भनाई छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन सक्छ । वस्तु निकासीकर्ताले डलर बढ्दा आम्दानी बढ्ने छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निभएर उद्योगको लागतमा वृद्धि हुने छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।
मुद्रास्फिती ६ प्रतिशत पुगिसकेकाले डलरले झनै बढाउने संभावना छ । कोरना भाइरसको संक्रमणले चीनतिरको नाका वन्द भएपछि वस्तुको अभाव भई भाउ बढ्ने खतरा छ ।