काठमाडौं। सिमेन्ट र कंक्रिट रोड मोडल प्रविधिबाट नेपालको सडक बनाउँदा बलियो भए पनि मंहगो पर्न जाने देखिएको छ। सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सिमेन्ट कंक्रिट रोड कनक्लेभ’मा सरोकारवालाले सिमेन्ट र कंक्रिट रोड मोडल प्रविधिबाट सडक निमार्ण गर्दा टिकाउ भए पनि मंहगो पर्न जाने बताएका हुन्।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले अस्फाल्ट कंक्रिटको तुलनामा सिमेन्ट र कंक्रिट मोडलबाट सडक पूर्वाधार निमार्ण गर्दा मंहगो पर्न जाने बताएका छन्। सिमेन्ट ढलान बाटो प्रारम्भिक लगातमा केही महँगो पर्ने भए पनि यसको आयु ३ गुणासम्म लामो हुने भएकाले यो किफायती र टिकाउ हुने उनले दाबी छ।
‘कंक्रिट रोडमा बनाउँदा केही मंहगो परे पनि लामो समयसम्म टिकाउ छ,’ उनले भने, ‘कंक्रिट सडक बलियो र टिकाउ मानिन्छ, जुन २० देखि ४० वर्ष वा सोभन्दा बढी टिक्न सक्छन्।’
हाल प्रचलनमा रहेको अलकत्र (बिटुमिन) प्रयोग गरिएको कालोपत्रे बाटो तुलनात्मक रूपमा सस्तो देखिए पनि प्रत्येक वर्ष मर्मत सम्भारमा ठूलो रकम खर्चिनु पर्ने हुँदा यसको प्रयोगको सट्टा सिमेन्ट ढलान बाटो बनाउँदा फाइदा हुने मारूले बताए। सिमेन्ट ढलान प्रविधिको प्रवर्द्धनका लागि बजेटमा प्राथमिकता दिन उनको माग छ।
कार्यक्रममा भारतका सिमेन्ट कंक्रिट रोड विशेषज्ञ सुनिल कुमार सक्सेनाले देशको आर्थिक विकासमा सडक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने तर्क राखे। हाल भारतले राष्ट्रिय राजमार्गमा सिमेन्ट र कंक्रिट रोड मोडल प्रविधिको सडकको भौतिक निमार्णलाई प्राथमिकता दिएको उल्लेख गरे।

भारतमा अहिले बनिरेका कंक्रिट रोडमा सुरुवाती चरणमा प्रतिकिलोमिटरको लागत १२ देखि १५ करोड रुपैयाँ लागेको उनको भनाइ छ। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकास निर्माण नेपालको कच्चा पदार्थमा आधारित हुनुपर्ने बताए। उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने बताए।
‘हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरिपरी उपलब्ध छ, यसको प्रयोग बढाउनुपर्छ,’ उनले भने, ‘हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु पहल गर्नुपर्छ। यसमा देखिएका समस्या समाधान गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्न तयार छु।’
मन्त्री भण्डारीले विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले पनि उक्त अभ्यासमा जोड दिनुपर्ने भनाइ राखे।
‘अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै गइरहने अवस्था छ,’ भण्डारीले भने, ‘कालोपत्रे सडक एक दुई वर्ष पनि टिक्दैनन्, सिमेन्ट र छडको प्रयोग गरेर सडक निमार्ण भएमा कम्तीमा पनि १० वर्षसम्म टिकाउ हुन सक्छ, त्यसैले सेतो पत्रेको अभ्यास गरौँ।’

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल पूर्ण रूपमा सिमेन्टमा आत्मनिर्भर भएको हुँदा स्वदेशमै खपत बढाउनुपर्ने बताए। उनले कालोपत्रे सडकको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने उनको दाबी छ।
‘सिमेन्टमा नेपाल पूर्ण रूपमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने अवस्थामा पुगेको छ,’ मन्त्री दाहालले भने, ‘अब हामीले हाम्रै देशका सडक निर्माणमा सिमेन्ट खपत गर्नुपर्छ, कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ, कंक्रिट प्रविधिमा जाऔँ।’
यसैगरी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। स्वदेशी उत्पादनको वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने उनको तर्क छ।
संघले ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ काठमाडौंमा ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सडक निमार्णमा सिमेन्टको प्रयोग बढाउनुपर्ने सरोकारवालाको जोड छ।