काठमाडौं। नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)ले नेपालमा भारतबाट लगानी आकर्षित गर्न लगानी बोर्ड नेपाल (आईबीएन) सँग संयुक्त पहलको प्रस्ताव गरेको छ।
आईबीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीसँगको भेटमा निक्कीका अध्यक्ष सुनील केसीले नेपालमा लगानी भित्र्याउन सहकार्यको प्रस्ताव राखेका हुन्।
निक्कीले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, उत्पादन तथा औद्योगिक उद्यम, सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, शिक्षा तथा सीप विकास, र स्वास्थ्य सेवा तथा चिकित्सा पूर्वाधार क्षेत्रमा लगानीको जनाएको छ। ‘नेपालले १९९० को दशकको लगानीको जादू दोहोर्याउनु आवश्यक छ र भारतबाट थप लगानी ल्याउनुपर्छ,’ निक्कीका अध्यक्ष केसीले भने।
केसीले रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको नेटवर्क १८ मिडिया एन्ड इन्भेस्टमेन्ट्स लिमिटेडसँग सहकार्यमा काठमाडौंमा ‘नेपाल–भारत संवाद’ आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
‘कार्यक्रम नेपालका परियोजना तथा उत्पादन प्रवद्र्धन गर्न उपयुक्त मञ्च हुनेछ। निक्कीले रणनीतिक तहमा द्विपक्षीय लगानी तथा सहकार्य प्रवर्द्धन गर्न नयाँ दिल्लीमा ‘नेपाल–भारत साझेदारी सम्मेलन’ आयोजना गर्दै छ,’ उनले भने।
एनआईसीसीआईले भारतका प्रमुख व्यापारिक सहर मुम्बई, कोलकाता, हैदराबाद, बेंगलुरु, अहमदाबाद, गुजरात, पञ्जाब र लखनउमा जलविद्युतजस्ता उच्च सम्भावना भएका क्षेत्रमा लक्षित लगानी गोलमेच सम्मेलन आयोजना गर्दै छ।
भारत–नेपाल संयुक्त उद्यम कम्पनीको सफलताका कथा समेटेर छोटो डकुमेन्ट्री निर्माण गरी भारतको व्यापार समुदायमा नेपालमा लगानी अवसर र फाइदाको प्रदर्शन गरिने केसीको भनाइ छ। यसमा बोर्डको सहकार्य अपेक्षा रहेको केसीले बताए।
बोर्डका सीईओ ज्ञवालीले नेपालमा रहेका भारतीय संयुक्त लगानीका कम्पनीले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न भूमिका खेल्न सक्ने औंल्याए।
आईबीएनको सहयोगका लागि धन्यवाद दिँदै निक्कीका उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले नेपालमा विदेशी लगानीका लागि अवरोध सिर्जना गर्ने केही मुख्य समस्या उल्लेख गरे।
उनले भने, ‘जग्गामा सीमा भएका कारण उद्योग विस्तार गर्न प्रमुख बाधा बनेको छ। बौद्धिक सम्पत्ति अधिकार र नीतिगत अस्थिरता पनि एफडीआईका लागि अन्य प्रमुख अवरोध हुन्।’