विराटनगर। मोरङ-सुनसरी औद्योगिक कोरिडोरमा बढ्दो विद्युत समस्या समाधानका लागि उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उच्चस्तरीय संवाद भएको छ।
मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै उद्योगीहरूले दीर्घकालीन समाधानको माग गरेका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँगै उप-निर्देशक दिर्घायु श्रेष्ठ, कोशी प्रदेश प्रमुख निर्देशक राजीव सिंह तथा विराटनगर वितरण शाखाका प्रमुख सरोज कुमार साहको सहभागिता रहेको उक्त कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले संयुक्त रूपमा उद्योग क्षेत्रमा देखिएका प्रमुख विद्युत समस्या, जस्तै अनियमित आपूर्ति, लोडसेडिङ, भोल्टेजको उतारचढाव, तथा नयाँ उद्योगहरूलाई लाइन उपलब्ध गराउन भइरहेको ढिलाइबारे जानकारी गराएका थिए।
संघका महासचिव अमित सारडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्व अध्यक्ष एवं परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा, विद्युत प्राधिकरणका अन्य अधिकृतहरू, संघ तथा परिसंघका पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति संयोजक एवं सदस्यहरू, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा सहभागी उद्योगीहरूले स्थायित्वयुक्त, भरपर्दो र समयमै उपलब्ध हुने विद्युत सेवा नै औद्योगिक क्षेत्रको वृद्धि र लगानी आकर्षणका लागि अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूले समस्या समाधानका लागि प्राधिकरणसँग नियमित संवाद र सहकार्यको आवश्यकता पनि औँल्याए।
कार्यकारी निर्देशक शाक्यले उद्योगीहरूबाट उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै, कोरिडोर क्षेत्रको ऊर्जा माग व्यवस्थापन तथा सुधारका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक योजना निर्माण गरिरहेको जानकारी दिए। उनले प्राधिकरण उद्योगमैत्री हुने दिशामा काम गरिरहेको भन्दै आगामी दिनमा प्रभावकारी सुधार देखिने विश्वास दिलाए।
कार्यक्रमले औद्योगिक क्षेत्रको विकासका लागि ऊर्जा आपूर्ति प्रणालीमा दीर्घकालीन सुधार गर्न उद्योगी र सरकारी पक्षबीच सहकार्यको आधार तयार गरेको बताइएको छ।