काठमाडौं। कोशी प्रदेशको औद्योगिक राजधानी विराटनगरमा 'सीप उत्सव २०८२' नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ।
उद्योग संगठन मोरङको नेतृत्वमा, इन्स्योर परियोजनाको प्राविधिक सहयोग, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको समन्वय र विभिन्न संघसंस्थाको सहकार्यमा आगामी जेष्ठ १० र ११ गते उद्योग संगठन मोरङको सचिवालयमा हुने जानकारी दिइएको छ।
प्रेस विज्ञप्तिमार्फत उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीप, दक्षता र रोजगारीबीचको अन्तरसम्बन्ध उजागर गर्न आयोजना गरिएको जानकारी दिए।
यसले तालिम प्रदायक, उद्योग प्रतिष्ठान, सरकारका सरोकारवाला निकाय र प्रशिक्षार्थीहरूबीचको सहकार्यलाई मजबुत बनाउने लक्ष्य लिएको छ।
यस अवसरमा सूचना प्रविधि, होटल व्यवस्थापन र इलेक्ट्रिकल विधामा लाइभ तालिम, अन्तरशिक्षालय सीप प्रतिस्पर्धा र कोशी प्रदेश स्किल आइकन घोषणा, एक हजारभन्दा बढी विद्यार्थी र युवाहरूका लागि करियर काउन्सेलिङ, उद्योग र शिक्षालयबीच सहकार्य प्रवर्द्धन र अप्रेन्टिसहरूको रोजगारी अवसर पहिचान हुने जनाइएको छ।
यसअघि वैशाख २२ देखि ३० सम्म झापा, मोरङ र सुनसरीका विभिन्न प्राविधिक शिक्षालयमा सम्पन्न प्रतिस्पर्धाबाट १८ जना प्रशिक्षार्थीलाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको थियो।
यस क्रममा सूचना प्रविधि, हस्पिटालिटी, इलेक्ट्रिकल र अटोमोबाइल इन्जिनियरिङ्गमा अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, शिक्षालय र संघसंस्थाको सहभागिता रहने छ।