काठमाडौं। काठमाडौंको हात्तीसारमा रहेको मार्कापोलो होटल नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ। इन्द्रेणी मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनीले लङटम लिजमा लिएर औपचारिक रुपमा मार्कापोलो होटल सञ्चालनमा ल्याएका हुन्।
होटलको शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन्। होटल उद्घाटन गर्दै उनले मुलुकमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र नै पर्यटन रहेको बताउँदै स्वदेश एवं विदेशमा रहेका नेपालीहरुको संयुक्त लगानीमा सुरु भएको होटलको सफलताको शुभकामना व्यक्त गरे।
‘अहिले मुलुकमा आशाभन्दा बढी निरासा छाउने काम भइरहेको बेला विदेशमा रहेका नेपालीहरुसहितको समूहले सुरु गरेको होटल एउटा आशाको गतिलो उदाहरण हो,’ अध्यक्ष ढकालले भने, ‘विदेशमा रहेका नेपालीहरुले अब आफ्नै मुलुकमा लगानी गर्न आवश्यक छ, त्यसको लागि आवश्यक वातावरण बनाउन महासंघले भूमिका निर्वाह गर्छ।’
कम्पनीका अध्यक्ष यमलाल कँडेलले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुको सामूहिक लगानीमा होटल सञ्चालन गरेको जानकारी दिए। विगत पाँच वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको सो कम्पनीको होटल क्षेत्रमा पहिलो लगानी हो।
लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका व्यवसायी कृष्ण सुवेदीले विदेशमा कमाएको केही हिस्सा नेपालमा लगानी गरेको जानकारी दिए। ‘आफ्नो मुलुकप्रतिको दायित्वलाई आत्मासाथ गर्दै नेपालमा लगानी विस्तार गरिरहेका छौँ,’ सञ्चालक सुवेदीले भने, ‘होटल क्षेत्रमा यो हाम्रो पहिलो प्रयास हो, अझै अन्य ठाउँमा पनि सञ्जाल विस्तार गर्दै जाने छौँ।’ सुवेदी हाल होटलका निर्देशक हुन्।
शनिबारबाट औपचारिक रुपमा होटल सुरु गरे पनि इन्द्रेणी मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनीले भने सात महिनाअघिबाटै व्यवस्थापन सम्हालेको थियो। होटल व्यवस्थापनामा लिएर मर्मत सम्भारसहित नयाँ रुप दिन मात्र ७ करोड रुपैयाँ खर्च भएको निर्देशक सुवेदीले जानकारी दिए। ३० वटा कोठा रहेको होटलको भित्री संरचनाहरु पूर्ण रुपमा परिवर्तन गरी बुटिक स्टाइलमा सजावट गरिएको जनाएको छ।

होटलका निर्देशक कृष्ण सुवेदीले पाहुनालाई नयाँ अनुभव हुने गरी होटल रूम, रेष्टुरेन्ट र बैठक कक्ष तयार भएको उनले बताए। स्वच्छ, शान्त र पारिवारिक वातावरणमा बस्न चाहने ग्राहकका लागि उपयुक्त हुने गरी होटललाई ४ प्रकारका अत्याधुनिक तथा सुविधायुक्त कोठाहरूसहित डिजाइन गरिएको छ। होटलमा ४ हजारदेखि ८ हजारसम्मका डिलक्स तथा स्विट रूममा मध्यय वर्गीय नेपाली तथा विदेशी पर्यटकले उत्कृष्ट अनुभव गर्ने छन्।
आकर्षक ग्रिनरी डिजाइनमा तयार पारिएको रूफटप रेष्टुरेन्टमा नेपाली परिकारसँगै इण्डियन, जापनिज र कन्टिनेन्टल परिकार उपलब्ध हुने छन्। ग्राहकको रूचिका आधारमा विदेशी तथा स्वदेशी पाहुनालाई ध्यानमा राखेर मेनु तयार गरिएको निर्देशक सुवेदीको भनाइ छ।
काठमाडौं शहरको सुन्दर दृश्यावलोकनसहित स्वादिष्ट खानाका परिकार पाइने रुफटप रेष्टुरेन्ट मार्कोपोलो होटलको विशेष आकर्षण हुनेछ। होटलमा ६० जना क्षमताको सभा हलसमेत बनेको छ। बैठक तथा सेमिनारका लागि उपयुक्त डिजाइनमा बनेको हलमा ग्राहकले ५० देखि ६० जनासम्म सहभागी हुने उत्सवका लागि प्रयोग गर्न सक्ने छन्।