काठमाडौं। सरकारले आर्थिक वर्ष २०७३/७४ देखि एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। स्वदेशमै सवारी साधान एसेम्बल गराउने उद्देश्यका साथ सरकारले बजेटमार्फत उद्योगलाई सिकेडी आयातमा कर छुट दिएको छ।
कर छुट पाउने भएपछि व्यवसायीहरु हौसिएर अहिले एसेम्बल उद्योग धमाधम खुल्न थालेको छ। हालसम्म ७ वटा दुई पाङग्रे र १ वटा चारपाङग्रेले एसेम्बल सुरु गरिसकेको छ। अर्थात चारपाङग्रेको रुपमा लक्ष्मी ग्रुपले हुन्डाई गाडीको एसेम्बल एक वर्ष अघि परासीमा सुरु गरेको छ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले एक वर्षबाट नेपालमै गाडी एसेम्बल सुरु गरेसँगै भेन्यू र क्रेटा गाडीको मूल्य समायोजन भएको बताए। हुन्डाईले नेपालमै एसेम्बल सुरु गरेपछि भारतको तुलनामा १० देखि १२ प्रतिशत गाडीको मूल्य सस्तो गराएको छ। नेपालमै एसेम्बल गरिएको भेन्यूमा ४ देखि ६ लाख र क्रेटामा ५ देखि ९ लाख रुपैयासम्म मूल्य समायोज गरेको उनले बताए।
एसेम्बल उद्योग सुरु हुनु भनेकै अटो उद्योगको सुरुवाती चरण रहेकोले यसलाई सरकारले क्षणिक हैन दिर्घकालिन रुपमा सहयोग गर्नुपर्ने वैंद्यज अर्गनाइजेसनका निर्देशक सुर्यान्स वैद्यको भनाइ छ।
‘अबको युग उत्पादनको हो, एसेम्बल उद्योग नै नआए सीकेडी (कम्प्लिटली नक्ट डाउन) उद्योग कहिले पनि नआउने भएकोले सरकारले दिर्घकालिन रुपमै सहुलियत दिँदै जानुपर्छ, निर्देशक वैंद्यले भने ’छिमेकी मुलुक भारतमा मारुती एसेम्बल सुरु गर्दा पार्टपुर्जा सबै बाहिरकै कम्पनीबाट ल्याइएको थियो।‘
अहिले ९० प्रतिशत मारुती भारतमै बन्छ र मारुतीलाई आवश्यक सामग्री पनि त्यहीँ उत्पादन हुन्छ। नेपालमा पनि सोही किसिमको अवस्था सिर्जना गर्न एसेम्बल उद्योगलाई आवश्यक सहयोग र प्रोत्साहन आवश्यक रहेको बताउँछन्। एसेम्बल उद्योग आउनासाथ यसले एकै वर्षमा कति भ्यालु एड (मूल्य अभिवृद्धि) ग¥यो भन्नेमा अल्झिएर बस्न नहुने व्यवसायीहरुको भनाइ छ।
‘यदी मूल्य अभिवृद्धि भएको छैन भने यसको दीर्घकालीन भविष्य पनि हुँदैन’ ती व्यवसायीले भने, ‘मूल्य अभिवृद्धि भएर नभएको हेर्न उचित समय चाहिन्छ। नेपालमा एसेम्बल उद्योग आएबाट हजारौं नेपालीले रोजगारी पाएका छन्। त्यसमा पनि दक्ष जनशक्ति आबद्ध छन।’
के एसेम्बल उद्योगलाई गर्भमै तुहाउन खोजिदै छ?
एसेम्बल उद्योग नेपालमा मात्र पृथक तरिकाले सुरु भएको हैन। कोरियामा हुन्डाईले १९६८ मा फोर्डको गाडी एसेम्बल गरेर उद्योग सुरु गरेको थियो। त्यसको ७ वर्षपछि हुन्डाई भन्ने ब्राण्ड जन्मियो र अहिले संसार भरी नै तेस्रो स्थानमा छ। सुरुवात हुने यसैगरी हो।
‘सुरुवात गर्दा केही पिडा हुन्छ। जसरी आमाले बच्चालाई पेटमा राखेर हुर्काउछ त्यसैगरी यो एसेम्बल उद्योग पनि अहिले गर्भमै छ।
कार्यकारी निर्देशक श्रेष्ठले भने ‘अनि पेटमा रहेको बच्चाले केही गरेन भनेर पेटमा मारिदिने भन्ने जस्तो भयो अहिलेको एसेम्बल उद्योगको स्थिति। यो खालको भयो भने उद्योग क्षेत्रमै नकारात्मक सन्देश जान्छ।’
अहिले हुन्डाईको एसेम्बल उद्योग राखेपछि परासी क्षेत्रको विकासमा ठूलो योगदान दिएको छ। त्यस क्षेत्रमा रहेका घरपरिवारलाई रोजगारी दिएको छ। अहिले १०० जना प्रत्यक्ष र ५० जना अप्रत्यक्ष रुपमा रोजगारी उद्योगले मात्र दिइरहेको छ। पछि उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि ५०० जनालाई रोजगारी दिन सक्छ।
‘अहिले सुरुवाती चरणमै रहदा यो र त्यो भएन भनेर दिएको सहुलियतनै कटौती गर्छु भन्ने तयारी गर्नु गलत छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘बरु पहिलो वर्षनै उद्योगले पुरा गर्नुपर्ने कामहरु कतिको गरेको छ र गरेको छैन भने किन नगरेको हो भन्ने विषय बुझ्न आवश्यक छ।’
अहिले अन्तःशुल्क बढाएर मात्रै छुट दिइएको छ। यस्ता विषयलाई कुन दृष्टिकोणबाट हेर्ने? प्रयोगकर्ताले सहुलियत पाएका छन्, राजस्व पनि गुमेको छैन र एउटा ठूलो समूहले रोजगारी पाएको छ,वैंद्यज अर्गनाइजेसनका निर्देशक सुर्यान्स वैद्यले भने, ‘एसेम्बल उद्योगलाई हेर्ने नजर सकारात्मक हुनुपर्छ’ ती व्यवसायीले भने ‘सहयोगी र प्रोत्साहित नीति आवश्यक छ। भारत आफैंमा ठूलो बजार हो। ठूलो बजार हुनुका फाइदा धेरै छन्।’
सरकारको सहुलियतमा विस्तारै एसेम्बल उद्योगहरु फस्टाउदै जादा विश्व बजारमा नेपाल सवारीसाधान आयात गर्ने मुलुक मात्र हैन, उद्योग सञ्चालनमा रहेको मुलुक पनि हो भन्ने परिचय दिन सक्ने उनको भनाइ छ।
हाल बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, हिरो र सिएक्स मोटरसाइकल उत्पादन सुरु गरिसकेको छ। यस्तै यात्रीको विद्युतीय मोटरसाइकल उत्पादन सुरु गरिसकेको छ। यस्तै होन्डा र एमभी, अप्रिलियाले पनि एसेम्बल प्लान्ट राख्ने तयारी गरेको छ।
विद्युतीय सवारी एसेम्बलको ठूलो सम्भावना
अहिले नेपालमा विद्युतीय सवारीसाधान आयात ह्वात्तै बढेको छ। हुन त सरकारले विद्युतीय गाडी आयातमा छुट समेत दिँदै आएको छ।
’अब आयात मात्र हैन नेपालमै एसेम्बल र उत्पादन गर्न दबाब दिनुपर्छ,’ एक व्यवसायीले भने, ‘यसले नेपालमा औद्योगी वातावरणमा ठूलो फड्को मार्छ।’ विद्युतीय सवारीको एसेम्बल नेपालमै गर्न चीनियाँ कम्पनीहरुले अध्ययन गरिरहेको समेत ती व्यवसायीको भनाइ छ।
‘सरकारको नीति कस्तो हुन्छ भनेर चीनियाँ कम्पनीहरुले नेपाललाई नजिकबाट नियाल्दै छ,’ ती व्यवसायीले भने, ‘यहाँको अस्थिर नीतिको कारण लगानीकर्ताहरु त्रसित भैरहेको हुन्छ, कम्तिमा १० देखि १५ वर्षसम्मका लागि एउटै नीति हुने वातावरण भए धेरै उद्योगहरु नेपाल आउन तयार छन्।’
चीनबाट नेपालमा ठूलो मात्रामा गाडी आयात गर्दै आएका एक व्यवसायीका अनुसार अन्य मुलुकको तुलनामा चीनियाँ गाडीको पार्टपुर्जा महंगो भएको गुनासो बढेकोले सरकारले आवश्यक साथ दिएमा त्यसका लागि केही पार्टपुर्जा नेपालमै उत्पादन गर्ने कि भन्ने सोचमा समेत पुगेका छन्। ‘यी सबैका लागि मुख्य नीति भनेको सरकारी नै हो,’ ती व्यवसायीले भने।