काठमाडौं। नेपालमा जारी असहज परिस्थितिका बिच यातायात व्यवसायीहरूले आफ्नै जोखिममा सवारीसाधन सञ्चालन गर्न थालेका छन्। यातायात व्यवासायीको छाता संगठनले भने सार्वजनिक सवारी साधान सञ्चालनको औपचारिक अनुमति नदिएपनि आफ्नै जोखिममा सवारीसाधन सञ्चालन गरेका हुन्।
गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस आफ्नै जोखिमले सञ्चालन भएका छन्। जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यू जारी हुँदा सञ्चालन बन्द भएका सार्वजनिक सवारीसाधन भदौ २७ गते (शुक्रबार) आफ्नै जोखिममा सञ्चालनमा आएका हुन्।
शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंसाधन प्रमुख पंकज मल्लले बताएका छन्। शुक्रबार बिहान ७ बजेदेखि ११ बजेसम्मको छोटो समयमा काठमाडौंका सडकहरूमा सवारीसाधन बाक्लो संख्यामा सवारी सधान सञ्चालन भएको थियो। बिहान मात्रै दर्जन बढी सार्वजनिक सवारी गन्तव्यतर्फ गएको मल्लले बताए। आज विहान नयाँ वसपार्कबाट निस्किएका सवारीसाधन चितवन, पोखरा, र बुटवल लगायतका स्थानहरूमा जाने माइक्रोबसहरूको संख्या धेरै रहेको मल्लले क्यापिटल नेपाललाई जनाए।
‘यात्रुहरूले आफैँ बुकिङ गरेर यात्रा गरिरहेको र यसमा महासंघको कुनै संलग्नता छैन,’ उनले भने, ‘टिकेट लिने काउन्टर भने पूर्ण रूपमा बन्द छ।’सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल र नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भने सार्वजनिक यातायात सञ्चालनको अनुमति नदिएको जनाएका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा.डोलराज खनालले सरकारले निषेधाज्ञा र कर्फ्यू जारी हुँदासम्म सार्वजनिक यातायात सञ्चालन नगरिने बताएका छन्। देशभर जारी निषेधाज्ञा तथा कर्फ्यूका कारण यातायात क्षेत्रमा कार्यरत व्यवसायी र श्रमिकले ठूलो आर्थिक संकट भोग्नुपरेको व्यवासायीको भनाइ छ।
सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुँदा करिब ११ लाख प्रत्यक्ष र ४५ लाख अप्रत्यक्ष श्रमिक प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन्। उनले यस क्षेत्रमा संलग्न भएका श्रमिक निषेधाज्ञा तथा कफ्र्युका कारण दैनिक गुजारा चलाउनसमेत समस्या भएको बताएका छन्।
‘यातायात बन्द भएपछि खाद्यान्न ढुवानी र यात्रुको आवतजावतमा समेत समस्या भएको छ।’ उनले भने, ‘हामी अन्योलमा छौँ र सरकारले यसको समाधानका लागि पहल गरोस् भन्ने चाहन्छौँ।’
निषेधाज्ञाको समयमा गाडी चलाउँदा बिमा कम्पनीले ‘क्लेम’ नदिने हुँदा सुरक्षाको ठूलो चुनौती रहेको व्यवसायीहरूको गुनासो छ। यसले गर्दा जोखिम मोलेर पनि गाडी चलाउन नसक्ने अवस्था रहेको सिटौलाको भनाइ छ।
व्यवसायीले तत्काल यातायात क्षेत्रमा सहजीकरणका लागि कुनै ठोस योजना ल्याउन आग्रह गरेका छन्। सिटौलाले यस समस्या समाधानका लागि जिम्मेवार निकायले छिटो कदम चाल्नुपर्नेमा जोड दिएका छन्। ‘मुलुक नै संकटको अवस्थामा हुँदा हामी सबैले धैर्य धारण गरेका छौँ’ सिटौलाले भने, ‘तर यो समस्याको निकास दिन ढिलो गर्नुहुँदैन।’
यातायात क्षेत्रमा आबद्ध वर्कशप, ग्यारेज र स्पेयर पार्टसका पसलहरू पनि बन्द हुँदा हजारौंको रोजगारीमाथि असर परेको छ। यसले समग्र आर्थिक चक्रमा नै नकारात्मक प्रभाव पारेको यातायात व्यवासायको भनाइ छ। अहिलेको अवस्थामा यातायात व्यवसायीहरू सरकारको निर्णयको प्रतिक्षामा छन्।
यता, नेपाल ट्रक यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गरी यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादन र औषधिको आपूर्तिमा गम्भीर असर परेको जनाएको छ। यातायात सञ्चालनका लागि विज्ञप्ति मार्फत आग्रह पनि गरेको छ। यातायात ठप्प हुँदा यातायात व्यवसायी, चालक, सहचालक र मजदुरहरूको रोजीरोटीमा संकट आएको र आम नागरिकले असहजता भोग्नुपरेको उल्लेख गरेको छ।
यातायात क्षेत्रले कानुनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने हुँदा राज्यले यसलाई पूर्ण कानुनी सुरक्षा दिनुपर्ने महासंघले माग गरेको छ। आन्दोलनबाट भएको दैनिक नोक्सानीलाई सम्बोधन गर्न राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्नेमा पनि जोड दिइएको छ।