काठमाडौं। पर्वतको कुस्मामा रहेको 'द क्लिफ' भत्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको खण्डन गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट इडिट गरेर भिडियो विभिन्न सामाजिक सञ्जालमा पोष्ट भएसँगै त्यसको द क्लिफले खण्डन गरेको छ।
द क्लिफका अध्यक्ष राजु कार्कीले सामाजिक सञ्जालमा आएको भिडियो फेक भएको प्रतिक्रिया दिएका छन्। ‘क्लिफको बदनाम गर्ने उद्देश्यका साथ केही व्यक्तिहरुले एआईबाट इडिट गरेर बञ्जी भत्किएको फेक भिडियो बनाएको देखिन्छ,’ अध्यक्ष कार्कीले भने, ‘सुरक्षाको हिसाबमा निकै मजबुत रहेको छ, फेक भिडियोको पछि नलागिदिनु होला।’
पछिल्लो समय आन्तरिक एवंम बाह्य पर्यटकको रोजाईमा क्लिफ परिरहेको बेला विभिन्न व्यक्तिले आफ्नो व्यवसायलाई बदनाम गर्ने मनसायले एआईको प्रयोग गरी फेक भिडियो बनाएर सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोजिएको भन्दै अध्यक्ष कार्कीले दु:ख व्यक्त गरे। अध्यक्ष कार्कीले भने, ‘हामी हाम्रो ग्राहकको सुरक्षाका लागि सधैँ प्रतिबद्ध छौँ।’
पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन। कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ।
बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काई चेयरलगायत गतिविधि सञ्चालनमा छन्।