काठमाडौं। आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२५’को लागि आवेदन खुला गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरी आवेदन खुलाएको घोषणा गरेको हो।
नेपाली समाजको रुपान्तरण र व्यवसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२५ को आयोजना गरेको हो।
वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम तथा दिगो समाधानसहितका आइडिया भएका विधार्थीले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्ने छन्।
कलेज आइडिया हन्ट आइडिया स्टुडियो नेपालद्वारा सुरु गरिएको वार्षिक कार्यक्रम हो। जसले पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारमा उतार्दै सिर्जनात्मक युवा मस्तिष्कहरूलाई नवप्रवर्तनात्मक र दिगो ग्रीनोभेस समाधानद्वारा समस्या समाधान गर्न उत्प्रेरित गर्छ। यस कार्यक्रमले विद्यार्थीलाई पिचिङ प्लेटफर्मको साथ-साथै इनक्युबेसन, परामर्श र नेटवर्किङको अवसर पनि प्रदान गर्छ।
शीर्ष ३ व्यवसायिक विचारलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ। जसको माध्यमबाट उनीहरूले आफ्ना व्यवसायिक विचारलाई प्रोटोटाइप बनाउन र सुरुवात गर्न सक्छन्।
पछिल्ला ६ वर्षमा, कलेज आइडिया हन्टले देशभरका ४०० भन्दा बढी कलेजबाट एक हजार ५०० भन्दा बढी आवेदन संकलन गरेको छ। हालसम्म ८० भन्दा बढी व्यवसायहरू इनक्युबेट भइसकेका छन् भने १९ व्यवसायलाई बीउ पूँजी प्रदान गरिएको छ।
कलेज आइडिया हन्टले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको छ र नेपाली विद्यार्थीका लागि यो एक अनुपम तथा महत्वपूर्ण इनक्युबेसन प्लेटफर्मको रूपमा स्थापित भएको छ।