काठमाडौं। गत आर्थिक वर्षमा सरकारले लगानी गरेको ४५ वटा सार्वजनिक संस्थानहरुमध्ये ५ वटा उच्च नोक्सानीमा रहेका छन्। सार्वजनिक संस्थानहरुमध्ये नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारणले उच्च नोक्सानी ब्यहोरेका हुन्।
यी संस्थानको कुल नोक्सानको हिस्सा कूल नोक्सानको ६३.६३ प्रतिशत रहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्ने नेपाल वायुसेवा निगम रहेको छ। निगमको उक्त अवधिमा १६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित नोक्सानी र १ अर्ब ४ करोड रुपैयाँ खुन नोक्सानी रहेको छ।
निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवाव्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर खस्कँदो छ।
यसैगरी, खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल निरन्तर खुदनोक्सानमा छन्। यी संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणहरूमा क्रमशः उच्च महसुल बक्यौता एवं कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित मिडिया परिवेशमा प्रतिस्पर्धात्मकता गुमाउनु रहेका छन्।
कमजोर बजारीकरण,मागभन्दा बढी उत्पादन र समग्र व्यवस्थापकीय कमजोरीका कारण दुग्ध विकास संस्थान वित्तीय रूपमा समस्याग्रस्त छ। ऋणको साँवाव्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएकोले वित्तीय जोखिम बढाएको छ।
