काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटबारे निजी क्षेत्रले खुलेरै स्वागत गरेको गरेको छ। निजी क्षेत्रले सार्वजनिक बजेट यथार्थपरक र मुलुकको आवश्यकतालाई आधार बनाएर ल्याइएको प्रतिक्रिया दिएको हो।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
निजी क्षेत्रले यो बजेट लामो समयदेखि समस्यामा रहँदै आएको मुलुकको अर्थतन्त्र चलायमान हुने खाले भएको प्रतिक्रिया दिँदै त्यसलाई साथ दिन नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा भर पर्ने बताएको छ।
हालको सरकार गठन भएलगत्तै निजी क्षेत्रलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गरेको र ती विषय बजेटमा समावेश भएसँगै अब मौद्रिक नीति पनि अहिले आएका विषयलाई कार्यान्वयन गर्ने खाले ल्याइए मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किने विश्वास निजी क्षेत्रको छ।
निजी क्षेत्रले यो बजेट लामो समयदेखि समस्यामा रहँदै आएको मुलुकको अर्थतन्त्र चलायमान हुने खाले भएको प्रतिक्रिया दिँदै त्यसलाई साथ दिन नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा भर पर्ने बताएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझावलाई आधार मानेर बजेट आएको प्रतिक्रिया दिए। मुलुकको अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने खाले बजेट आएको बताउँदै हवाई टिकटको भ्याट र होटलमा लगाउँदै आएको लक्जरी कर नहटाएकामा उनको गुनासो छ।
‘समग्रमा बजेट राम्रो आएको छ,’ अध्यक्ष ढकालले भने, ‘कार्यान्वयन पक्षलाई बलियो बनाए मुलुकको अर्थतन्त्र चलायमान हुन्छ। निजीक्षेत्रमैत्री बजेट आएको छ।’
महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि बजेट यथार्थपरक आएको बताए। ‘बजेटमा कुनै पनि ठूला सपना देखाइएको छैन,’ पूर्वअध्यक्ष मुरारकाले भने, ‘व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने खाले करका दर पनि नबढाएकाले सन्तुलित खालको आएको छ।’
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बजेटको आकार केही मात्रामा ठूलो आए पनि आर्थिक चलायमान हुने खालको रहेको प्रतिक्रिया दिए। निजी क्षेत्रले उठाउँदै आएका अधिकांश माग पूरा भएको बताउदै मौद्रिक नीति यही बजेटअनुसार आए अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ।
महासंघका केन्द्रीय सदस्य प्रबलजंग पाण्डेले एक्जिम कोर्ड लिँदा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था खारेज गर्नेदेखि नेपालीलाई विदेशमा लगानी गर्न दिनेलगायत विषय बजेटमा समावेश भएकामा खुसी व्यक्त गरे।
होटललाई उद्योगसरह सुविधा दिने र बिजुली प्रयोगमा पनि सहुलियत दिने विषयले पर्यटन क्षेत्रलाई राहत पुग्ने उनको विश्वास छ। ‘धेरैले धेरै थरीका कर बढ्ने हल्लाका कारण निजी क्षेत्र त्रासमा थियो,’ पाण्डेले भने, ‘तर, सरकारले मुलुकको वास्तविकता बुझेर करको दरमा हेरफेर नगरेर राम्रो गर्यो।’
सरकारले सञ्चालन गरेको औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशत छुट दिने, वृद्धभत्ता ७० वर्ष पुगेपछि दिने भन्ने विषय पनि राम्रो भएको उनको भनाइ छ।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले बजेटले महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याएर राम्रो गरेको बताइन्। महिला उद्यमीलाई २० लाख रुपैयाँसम्म बिनाधितो ऋण दिने र उद्योग दर्तामा शतप्रतिशत छुट दिने विषयले धेरै व्यवसायीलाई प्रोत्साहन गर्ने उनको धारणा छ।
‘निजी क्षेत्र र महिला उद्यमीलाई प्रोत्साहन गर्ने खाले बजेट आएको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘गाउँघरमा रहेका घरेलु उद्यमलाई समेत प्रोत्साहन गर्न खोजिएको देखिन्छ,’ उनले भनिन्।