काठमाडौं। होटल व्यवसायीले लामो समयदेखि राख्दै आएको होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता दिइनुपर्ने माग बजेटले पूरा गरिदिएको छ।
बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरहको मान्यता दिइने घोषणा गरेका हुन्।
होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर तथा विद्युत् महसुल छुट दिइने घोषणा बजेटमार्फत गरिएको हो। यस्तै होटल, मोटल, रेस्टुरेन्ट, जंगल सफारीलगायत पर्यटन व्यवसायमा कार्यरत श्रमिकका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ।
यस क्षेत्रमा आबद्ध व्यवसायीले लामो समयदेखि होटललाई उत्पादनमूलक उद्योगको मान्यता दिनुपर्ने र त्यहीअनुसारको सुविधा पाउनुपर्ने माग राख्दै आएका थिए। होटल एसोसिएसन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले लामो समयको प्रयासपछि होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएकामा खुसी व्यक्त गरे।
‘मुलुकको पर्यटन र रोजगारी क्षेत्रमा पुर्याएको योगदानलाई बल्ल सरकारले सम्मान गरेको छ,’ अध्यक्ष शाहले भने, ‘सरकारले दिने सुविधाले होटल उद्योगलाई चलायमान बनाउन ठूलो सहयोग पुग्नेछ।’
नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेत (अजित)ले होटल क्षेत्रलाई उद्योगको मान्यता दिएर लगानीको ढोका थप खोलिदिएको बताए। होटल सञ्चालन खर्चको रुपमा रहेको बिजुली प्रयोगबापत पाइने छुटले धेरै राहत पुग्ने उनको भनाइ छ।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागार्इंले बिजुली र आयकरमा दिइने छुट घोषणाले व्यवसायीलाई फाइदा हुने प्रतिक्रिया दिए। ‘सञ्चालन खर्च केही मात्रामा घट्दा पनि त्यसको फाइदा उपभोक्ता अर्थात् होटलका ग्राहकलाई हुन्छ,’ उपाध्यक्ष चापागार्इंले भने, ‘सरकारको यो निर्णय प्रशंसायोग्य छ।’
बिजुलीको महसुल आधा घट्छ
उत्पादनमूलक उद्योगको मान्यता दिएसँगै बिजुलीको महसुल आधा घट्नेछ। हाल व्यवसायीले घरायसी प्रयोगजन जसरी अर्थात् प्रतियुनिट १५ रुपैयाँसम्म तिर्दै आएका थिए। अब सरकारको यो निर्णयसँगै विद्युत् महसुल ७ देखि ८ रुपैयाँ मात्रै पर्नेछ। यस्तै आयकरमा पनि छुट पाउनेछन्।
क्यापिटलकोे होटलियर समिटको मुख्य एजेन्डा
बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिले गत वर्षको भदौमा होटललियर समिट २०८१ आयोजना गरेको थियो। अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारीलगायत विभिन्न सरकारी निकायका पदाधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरु राखेर होटल क्षेत्रलाई उद्योगको मान्यता किन नदिने भन्ने विषयमा बहस चलाइएको थियो।
बसह समापन समारोहमा बोल्दै अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीले होटललाई उत्पादनमूलक उद्योगको मान्यता दिने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार सरकारले केही महिनाअघि ल्याएको अध्यादेशमा पनि होटललाई उद्योगको मान्यता दिइएको थियो।