पाल्पा। जिल्लाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा–३ रिमिघा लेकमा यार्सा भेटिएको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सागुम्बा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।
रिमिघा लेकमा गत साता यार्साजस्तै देखिने वस्तु फेला परेको थियो। उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सााजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।
गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। पालिकाले सूचना निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो।प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिए।
‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ’, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यू कति छ भन्ने यकिन भएको छैन।’ एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लाबासी उत्साहित भएका छन्।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधीजन्य बहुगुणयुक्त यार्सा प्राकृतिक जडीबुटी हो। यार्सा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ।
यार्सामा औषधीजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवर्द्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधी बनाउन प्रयोग हुने जनाइएको छ।
समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सा पाइन्छ।–रासस