काठमाडौं। मनसुन भित्रिएसँगै डेंगु संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा उल्लेख छ।
जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमति भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। जुनदेखि अगस्त (असार–भदौ) सम्मलाई डेंगु संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ।
सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौंमा देखिएको छ। काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन्।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगीलाई शून्यमै ल्याउने र डेंगु गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए।
उनले भने, ‘डेंगुको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ।’ डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए।
‘यो वर्ष डेंगी संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन। यद्यपि, मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन’, उनले भने।
दाहालका अनुसार सबैले डेंगु नियन्त्रणमा सबैले आ–आफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगु संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने गर्नुपर्छ।