सर्लाही। उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ। चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समय नदी किनारका गाउँको उठीबास लगाउने गरेको छ।
खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ। सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए।
वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन’, उनले भने, ‘गत वर्ष खोलाले दुई÷तीन स्थानमा ड्याम फुटायो। पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौं।’ आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले अनुभव सुनाए।
गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो। वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए।
जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि वाग्मतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ। रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए। उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।
‘चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो। यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ’, उनले गुनासो गरे। चुरेको काखमा बागमती खुम्चिएर बगे पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ।
नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ। बलरा–१ का हरिशरण कापरले बागमतीको बाढीले गत वर्ष खाने अन्नसमेत बगाएर लगेको सुनाए।
स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ। विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए।–रासस