काठमाडौं। खुल्ला सीमाबाट चोरी तस्करी नियन्त्रणमा सरकार उदासिन हुँदा नेपालीले भारतलाई दैनिक रुपमा १२ करोडभन्दा बढी वस्तु एवं सेवा कर (जीएसटी) बुझाउँदै आएको छ। उद्योग संगठन मोरङले गरेको एक अध्ययनअनुसार भारतसँग जोडिएका सबै सीमाबाट दैनिक एक अर्बको सामान नेपाल आउने गरेको छ। ती सामान ल्याएबापत नेपालीहरुले दैनिक रुपमा जीएसटीको रुपमा भारतलाई १२ करोड रुपैया बुझाउँदै आएको हो।
उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुरानाले नेपालभन्दा भारतमा सस्तो सामान पाउने गरेकाले धेरै नेपालीहरुले भारतमा गएर सामान खरिद गर्दै आएको अर्बौं रुपैयाँको कारोबार र करोडौँ रुपैयाँ कर बुझाइरहेको बताए। ‘हामी यता व्यापार भएन भनेर टाउको ठोकाइरहेका हुन्छौँ,’ अध्यक्ष सुरानाले भने, ‘त्यही सामान भारतबाट दैनिक अर्बौं रुपैयाँको आइरहेको छ।’
सीमाबाट हुने तस्करी नियन्त्रणमा सरकार गम्भीर नभएकाले भारतबाट दैनिक अर्बौं रुपैयाँको सामान अवैध रुपमा आइरहेको व्यवसायीको भनाइ छ। नेपालमा भन्सार महसुल अत्याधिक हुँदा अत्यावश्यक सामानको मूल्य बढेको छ। यसरी भन्सार बढाउँदा भारतमा सामान किन्नेहरू बढी हुने गरेको र कर पनि भारतमा तिरिरहेकाले यो विषयमा गम्भीर भएर सोच्न आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
अर्बौं रुपैयाँको सामान चोरी तस्करी भएर आउने र करोडौँ रुपैयाँ कर भारतलाई नेपालीले बुझाइरहँदा समेत सरकारले कुनै पहल नगर्दा नेपालका व्यवसायीहरू समस्यामा परिरहेको उनको भनाइ छ।
भारतबाट सबैभन्दा बढी चोरी तस्करी भएर आउने सामानमा लत्ता कपडा, खाद्यान्न, जुत्ता चप्पल र मदिरा रहेको छ। नेपालभन्दा आधा मूल्य सस्तो हुने भएकाले भारतबाट धेरै मात्रामा चोरी तस्करी भएर आउने गरेको छ।
विरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अनिलकुमार अग्रवालले नेपाल र भारतबीच करको दरमा व्यापाक फरक भएकाले चोरी तस्करी फस्टाएको बताए। ‘सरकारलाई पनि चोरी तस्करीमार्फत सामान आउने गरेको थाहा छ,’ पूर्वअध्यक्ष अग्रवालले भने, ‘नियन्त्रणमा कुनै चासो देखाउँदैन।’
अर्बौं रुपैयाँको सामान चोरी तस्करी भएर आउने र करोडौँ रुपैयाँ कर भारतलाई नेपालीले बुझाइरहँदा समेत सरकारले कुनै पहल नगर्दा नेपालका व्यवसायीहरू समस्यामा परिरहेको उनको भनाइ छ।
नेपालमा उत्पादन भएका सामानभन्दा भारतबाट चोरी तस्करी भएर आउने सामानहरू सस्तो हुने भएकाले उपभोक्ताले पनि भारतकै किन्ने गरेको व्यवसायीहरूको भनाइ छ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि भन्सार दर समान नगरिएको बताए। ‘नेपाल र भारतबीचको अर्थतन्त्रको आकार फरक भएकाले पनि समान दर बनाउन सकिँदैन,’ महानिर्देशक भट्टराईले भने, ‘तस्करी नियन्त्रणमा सरकार गम्भीर भएर लागेको छ, खुल्ला सीमा भएकाले सबै रोक्न नसकिएकै हो।’