काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा हाल छलफलरत रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन विधेयक २०८०, वित्तीय प्रणालीको पारदर्शिताका लागि अगाडि सारिएकाे छ। विशेषगरी बैंकिङ क्षेत्रमा बैंकर र व्यवसायीबीचको दोहोरो भूमिका अन्त्य गर्ने प्रस्तावले विधेयकलाई थप चासोको रूपमा हेरिँदै आएको छ।
विधेयकले संस्थापक सेयरधनी, सम्बद्ध व्यक्ति, बैंकर, व्यवसायी आदि परिभाषालाई पनि प्रष्ट पारेको छ। बैंकको सञ्चालक, कार्यकारी प्रमुख वा अन्य नीति निर्माण तहमा बसेका व्यक्ति बैंकर मानिनेछन्, उता, व्यापार वा उत्पादनमूलक गतिविधिमा प्रत्यक्ष संलग्न व्यक्ति व्यवसायीका रुपमा चिनिनेछन्। यी दुई भूमिका एउटै व्यक्तिमा रहँदा स्वार्थको द्वन्द्व हुने देखिएकाले विधेयकले बैंकर र व्यवसायी छुट्टिनपर्ने नीति लिएको हो।
संशोधित बाफिया विधेयकले स्पष्ट रुपमा कुनै व्यक्ति वा संस्थाले बैंकको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व राखे ती व्यक्तिले वित्तीय प्रणालीबाट ऋण लिन नपाउने व्यवसथा गर्न खोजेको छ। यो प्रावधानले व्यवसायीले बैंकको संस्थापक सेयर राखेर ऋण लिन नपाउने अवस्था सिर्जना गर्नेछ।
यसको उद्देश्य बैंकको नीति निर्माणमा संलग्न व्यक्तिले आफ्नै हितमा निर्णय गर्ने सम्भावनालाई न्यूनीकरण गर्नु हो। प्रस्तावित व्यवस्थासहित बाफिया विधेयक पारित भएर कार्यान्वयन अवस्थामा व्यवसायीसमेत रहेका बैंकका संस्थापकले वित्तीय स्रोत उपयोग गर्ने भए बैंक छोड्नुपर्ने हुन्छ। अर्थात् बैंकको संस्थापक छाडेर व्यवसायी मात्रै हुने र बैंकको ऋणी बन्न सक्ने अवस्था बन्छ।
नेपालका बैंकमा एक प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका व्यक्ति कति छन्? खोजीको विषय बनेको छ। यसअघि क्यापिटल नेपालले सबैभन्दा बढी पुँजी भएका वाणिज्य बैंकमा व्यक्तिगत संस्थापक सेयरधनीको तथ्यांक संकलन गरी एक प्रतिशतमाथिको सेयर संरचनाबारे अध्ययन गरेर समाचार प्रकाशित गरिसकेको छ।
अहिले विकास बैंकबारे अध्ययन गरेर तयार पारिएकाे समाचार सामग्री तयार पारिएकाे छ। कुन विकास बैंकमा एक प्रतिशत वा सोभन्दा माथि व्यक्तिगत संस्थापक सेयरधनी को–को छन्, उनीहरुमध्ये पनि को बैंकर हुन्, को व्यवसायी हुन् भन्नेबारे खोज गरिएकाे छ।
हाल सञ्चालनमा रहेका १७ वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकमा १२७ संस्थापक सेयरधनी छन् (सप्तकोसी डेभलपमेन्ट बैंकबाहेक), जसको नाममा व्यक्तिगत रूपमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व छ।
तीमध्ये ८३ जना संस्थापक सेयरधनी बाफियाको परिभाषाअनुसार बैंकर र व्यवसायी दुवै भूमिकामा छन्। संशोधित विधेयक लागू भए यिनै व्यक्तिमाथि प्रत्यक्ष प्रभाव पर्नेछ। उनीहरूले अब बैंकमै रहने हो भने व्यवसाय परित्याग गर्नुपर्नेछ वा व्यवसायमै रहने हो भने बैंकको सेयर घटाउनुपर्ने वा बेच्नुपर्ने अवस्था आउन सक्छ।
१. मुक्तिनाथ विकास बैंकः यो बैंकमा एक प्रतिमाथि व्यक्तिगत संस्थापक सेयरधनी ११ जना रहेका छन्। यीमध्ये नेपालभित्रै केही उद्यम व्यवसायसमेत सञ्चालन गरी बैंकको संस्थापक रहेका तुलसीराम ढकालको २.३३ प्रतिशत, कृष्णमान श्रेष्ठको २.१२ प्रतिशत, भरतराज ढकालको १.५६ प्रतिशत, खिमप्रकाश मल्ल १.३८ प्रतिशत र नारायणकुमार श्रेष्ठको १.२९ प्रतिशत सेयर स्वामित्व छ।
उनीहरुबाहेक व्यवसायमा नहेका मीनप्रसाद गुरुङको १.९८ प्रतिशत, जगतबन्धु अर्यालको १.४० प्रतिशत, हरिबहादुर गुरुङको १.२९ प्रतिशत र शान्ता शर्माको १.१५ प्रतिशत संस्थापक सेयर स्वामित्व छ। बैंकका संस्थापक गोविन्द गुरुङ र खगेन्द्रराज रेग्मीकाे मृत्यु भइसकेको छ। मुक्तिनाथमा गाेविन्द गुरुङको १.३४ प्रतिशत र खगेन्द्रराज रेग्मीको १.११ प्रतिशत सेयर स्वामित्व छ।
२. महालक्ष्मी विकास बैंकः यो बैंकमा कुल १३ जना व्यक्तिगत संस्थापक सेयरधनी छन्। जसमध्ये १२ जना व्यवसायी पनि हुन्। जसमध्ये बैंकमा राजबहादुर सिंहको २.६२ प्रतिशत, सम्झना अर्यालको २.५४ प्रतिशत, रोहित गुप्ताको १.९७ प्रतिशत, राजेशकुमार रौनियारको १.८२ प्रतिशत, पुरुषोत्तमलाल सांघाईको १.७७ प्रतिशत र अनिलदास श्रेष्ठको १.६४ प्रतिशत संस्थागत सेयर स्वामित्व छ। उनीहरू सबै बैंकका संस्थापक सेयरधनीसँगै नेपालभित्रै कुनै उद्यम व्यवसाय तथा व्यापारमा संलग्न छन्।
बैंकमा १.४१ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेका सुनिल बल्लभ भने हालसम्म कुनै व्यवसायमा संलग्न रहेको पाइँदैन। उनी बैंकका जागिरे हुन्। बैंकमा सञ्जय गिरीको १.३३ प्रतिशत, सीताराम प्रसाईंको १.२७ प्रतिशत, माधवलाल श्रेष्ठको १.२३ प्रतिशत, प्रमोदकुमार काबराको १.१० प्रतिशत, राजेशबाबु श्रेष्ठको १.०७ प्रतिशत र अर्जुनप्रसाद शर्माको १.०२ प्रतिशत संस्थागत सेयर स्वामित्व छ। उनीहरू पनि व्यवसायी नै हुन्।
३. गरिमा विकास बैंकः गरिमामा जम्मा ७ जना संस्थापकको १ प्रतिशतमाथि सेयर स्वामित्व छ, जुन सबै बैंक संस्थापकसँगै नेपालभित्रैका उद्यमी, व्यवसायी तथा व्यापारी हुन्। यीसमध्ये प्रदीपकुमार रुंगटाको २.४ प्रतिशत, चन्द्रकान्त बरालको १.८ प्रतिशत, श्यामप्रसाद बस्यालको १.६ प्रतिशत, छविलाल कुँवरको १.३ प्रतिशत, प्रेमबहादुर जिसीको १.२ प्रतिशत, डा. आनन्दप्रसाद श्रेष्ठको १ प्रतिशत र अनिषा मुडभरीको १ प्रतिशत संस्थागत सेयर स्वामित्व छ।
४.एक्सल डेभलपमेन्ट बैंकः बैंकमा १ प्रतिशतमाथि सेयर स्वामित्व भएका १६ जना व्यक्तिगत संस्थापक छन्। यीसमध्ये १४ जना व्यवसायी हुन्।
व्यवसायीसमेत रहेका संस्थापकमा महेन्द्रकुमार गोयलको ९ प्रतिशत, रजन शर्माको ८ प्रतिशत, ज्योतिकुमारी सरावगीको ५.३३ प्रतिशत, सुरेशकुमार अग्रवालको ४.१९ प्रतिशत, हेमराज ढकालको ३.८८ प्रतिशत, वजरंग गोयलको ३.७६ प्रतिशत, गणेशप्रसाद खनालको ३.७३ प्रतिशत, अमितकुमार अग्रवालको ३.२२ प्रतिशत, रुपादेवी सरावगीको २.०७ प्रतिशत, गौरी श्रेष्ठको १.७० प्रतिशत, आकांक्षा गुप्ताको १.५७ प्रतिशत, निरसबहादुर श्रेष्ठको १.३३ प्रतिशत, दीपककुमार सरावगीको १.२५ प्रतिशत र श्रवणकुमार गोयलको १.०४ प्रतिशत संस्थागत सेयर स्वामित्व छ।
बैंकका संस्थापक मात्रै रही व्यवसायमा संलग्न नरहेका गोपालप्रसाद बसौलाको ४.४७ प्रतिशत र चेतप्रसाद भट्टराईको १.१० प्रतिशत सेयर स्वामित्व छ।
५. कर्पोरेट डेभलपमेन्ट बैंकः बैंकमा १ प्रतिशतमाथि संस्थागत सेयर स्वामित्व रहेका १५ व्यक्ति छन्। यीमध्ये ५ जना मात्रै नेपालभित्रैको व्यापार व्यवसायमा संलग्न छन्। व्यवसायीसमेत रहेका बैंकका संस्थापकमा शहनवाज अन्सारीको ४.९६ प्रतिशत, मोहम्मद जैनुद्दिन अन्सारीको ४.०१ प्रतिशत, विनोदकुमार खण्डेलवालको ३.६० प्रतिशत, नासिरुद्दिन अन्सारीको ३.११ प्रतिशत र शरिफ अहमदको २.१९ प्रतिशत बैंकमा संस्थागत सेयर स्वामित्व रहेको छ।
हाल अन्य व्यवसायमा संलग्न नदेखएका बैंकको संस्थापकमा निकहत यास्मिनको ५.०१ प्रतिशत, मोहम्मद बसरुद्दिन अन्सारीको ४.११ प्रतिशत, सबाना बानुको ३.०१ प्रतिशत, विश्रुतराज पोखरेलको २.४० प्रतिशत, नुश्रत जहान अन्सारीको २.०१ प्रतिशत, इश्रत जहानको २.०१ प्रतिशत, साविका यास्मिनको २.०१ प्रतिशत, रुबैका बानुको २.०१ प्रतिशत, रबाब बानुको २.०१ प्रतिशत र आविद हुसेन अन्सारीको १.०७ प्रतिशत संस्थागत सेयर स्वामित्व छ।
६. कामना सेवा विकास बैंकः बैंकमा १ प्रतिशतमाथि सेयर स्वामित्वका व्यक्तिगत संस्थापक ५ जना छन्। यीमध्ये ३ जना बैंकको संस्थापकसँगै नेपालभित्रै व्यापार व्यवसायमा संलग्न छन्। व्यवसायीसमेत रहेका बैंक संस्थापकमा श्रीराम पाण्डेको १.३९ प्रतिशत, सीताराम उप्रेतीको १.३७ प्रतिशत र मदन खनालको १.०७ प्रतिशत संस्थागत सेयर स्वामित्व छ।
बैंकको संस्थापक मात्रै रहेका तुलसा पाण्डेको २.४३ प्रतिशत र सीता आचार्यको १.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ। उनीहरु नेपालभित्र कुनै पनि व्यापार व्यवसायमा संलग्न रहेको पाइँदैन।
७. ग्रिन डेभलपमेन्ट बैंकः यो बैंकमा एक प्रतिशतमाथि सेयर स्वामित्व भएका ७ जना संस्थापक छन्। यीमध्ये नेपालभित्रै उद्यम व्यवसाय गर्ने कृष्ण शंकर श्रेष्ठको ३.४८ प्रतिशत र प्रयासनारायण भरीको २.७८ प्रतिशत संस्थागत सेयर स्वामित्व छ।
बाँकी व्यवसायमा संलग्न नभएका बैंकका संस्थापक दीपशंकर श्रेष्ठको १३.९१ प्रतिशत, गणेशकुमार श्रेष्ठको ४.५९ प्रतिशत, दिलाराम खरेलको १.२९ प्रतिशत, केशरकुमार गिरीको १.२७ प्रतिशत र रजन गिरीको १.२४ प्रतिशत सेयर स्वामित्व छ।
८. लुम्बिनी विकास बैंकः याे बैंकमा १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ७ जना व्यक्तिगत संस्थापक छन्। यीमध्ये ४ जना नेपालभित्रै उद्यम व्यवसाय गर्ने छन्। व्यवसायीसमेत रहेका बैंक संस्थापकमा शान्ति श्रेष्ठको १.७५ प्रतिशत, मनप्रसाद वाग्लेको १.५९ प्रतिशत, मिंगा दोर्जे शेर्पाको १.५७ प्रतिशत, कान्छा गुरुङको १.५० प्रतिशत र पुष्पाज्योति ढुंगानाको १.०५ प्रतिशत संस्थापक सेयर स्वामित्व छ।
व्यापार व्यवसायमा संलग्न नरहेका संस्थापकमा चिन्तामणि भट्टराईको ३.८३ प्रतिशत र सुशीलराज पराजुलीको १.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
९. साइन रेसुंगा डेभलपमेन्ट बैंकः बैंकमा १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका २ व्यक्ति छन्, जुन नेपालभित्रै व्यापार, व्यवसायमा संलग्न रहेका छन्। यीमध्ये थानेश्वर पौडेलको २.२८ प्रतिशत र धनेन्द्र कार्कीको १ प्रतिशत सेयर स्वामित्व रहेको छ। धनेन्द्र कार्की लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हुन्।
१०. सांग्रिला डेभलपमेन्ट बैंकः सांग्रिलामा एक वा सोभन्दा बढी सेयर स्वामित्व भएका ६ जना संस्थापक छन्। यीमध्ये ४ जना व्यवसायी हुन्। व्यवसायीसमेत रहेका संस्थापकमा विश्वास गौचनको १.९६ प्रतिशत, उज्ज्वल साट्यालको १.५२ प्रतिशत, केशव बोहराको १.१६ प्रतिशत र डा. रवीन्द्रप्रसाद श्रेष्ठको १.१२ प्रतिशत सेयर स्वामित्व छ।
हालसमम नेपालभित्र कुनै पनि व्यापार व्यवसायमा संलग्न नदेखिएका बैंक संस्थापक शोभा मिश्रको १.०८ प्रतिशत र अञ्जिता श्रेष्ठको १.६० प्रतिशत सेयर स्वामित्व छ।
११. सिन्धु विकास बैंकः बैंकमा कुल १० जना संस्थापकको एक वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ। उनीहरु सबै बैंकको लगानीकर्तासँगै नेपालभित्रै व्यापार, व्यवसायमा संलग्न रहेको पाइन्छ।
यीमध्ये देवीबहादुर श्रेष्ठको ५.४२ प्रतिशत, राजेन्द्रकुमार श्रेष्ठको ३.५० प्रतिशत, रामहरि पौडेलको १.९२ प्रतिशत, शशिकान्त अग्रवालको १.८७ प्रतिशत, अमिररत्न डंगोलको १.४७ प्रतिशत, सुरज श्रेष्ठको १.३६ प्रतिशत, ज्योति अग्रवालको १.२८ प्रतिशत, मिता मुरारका अग्रवालको १.०४ प्रतिशत, दुर्गाबहादुर श्रेष्ठको १ प्रतिशत र नरेशलाल श्रेष्ठको १ प्रतिशत सेयर स्वामित्व छ।
१२. कर्णाली डेभलपमेन्ट बैंकः यो बैंकमा एक वा सोभन्दा बढी संस्थापक सेयरधनी नेपालभित्रै व्यापार व्यवासाय गर्ने ५ जना छन्। यीमध्ये राजेन्द्रवीर बयाको १४.९८ प्रतिशत, तारा गुरुङको ८.८६ प्रतिशत, पशुपतिदयाल मिश्रको १.६३ प्रतिशत र मोहम्मद इरफानको १.४३ प्रतिशत सेयर स्वामित्व छ।
१३. मितेरी डेभलपमेन्ट बैंकः मितेरीमा एक वा सोभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका ८ जना संस्थापक छन्। यीमध्ये ६ जना नेपालभित्रै व्यापार व्यवसायमा समेत संलग्न छन्।
यस्ता संस्थापकमा सुनील श्रेष्ठको ४.१२ प्रतिशत, राजेश अग्रवालको ३.१५ प्रतिशत, राजेश अग्रवालको २.९३ प्रतिशत, जनसेवक भण्डारीको २.१० प्रतिशत, पवनकुमार अग्रवालको १.२१ प्रतिशत र ललिता थापाको १.१९ प्रतिशत सेयर स्वामित्व छ। व्यवसायी नरहेका संस्थापक रामबहादुर श्रेष्ठको १.९४ प्रतिशत र गम्भीरमान तण्डुकारकाे १.२९ प्रतिशत सेयर स्वामित्व छ।
१४. नारायणी डेभलपमेन्ट बैंकः बैंकमा एक वा सोभन्दा बढी सेयर स्वामित्व रहेका १६ जना संस्थापक छन्। यीसमध्ये ६ जना बैंकको संसथापकसँगै नेपालभित्रैका व्यापारी, व्यवसायी पनि हुन्। उनीहरुमध्ये अनिता श्रेष्ठको ७.५० प्रतिशत, नवराज बजगाईंको ३.०५ प्रतिशत, जमुना कृष्ण ताम्राकारको २.५० प्रतिशत, अल्पना श्रेष्ठको १.८० प्रतिशत, टेकनाथ भट्टराईको १.२८ प्रतिशत र राजेशकुमार कर्माचार्यको १.२५ प्रतिशत सेयर स्वामित्व छ।
हाल बैंकको संस्थापक रही नेपालभित्र अन्य व्यापार व्यवसायमा संलग्न नदेखिएकामा अर्जुनकुमार पोखरेलको ७.४६ प्रतिशत, उत्तमप्रसाद द्वाको ४.०० प्रतिशत, अन्जुदेवी श्रेष्ठको ३.५९ प्रतिशत, रामकिशन गोतामेको ३.५९ प्रतिशत, अम्बिरत्न शाक्यको ३.२२ प्रतिशत, हेमाकुमारी लोहानीको १.९१ प्रतिशत, धीरेन्द्र मैनालीको १.८८ प्रतिशत, सुनील श्रेष्ठको १.२५ प्रतिशत, यशोदा अधिकारीको १.१४ प्रतिशत र हरिबहादुर भण्डारीको १.०७ प्रतिशत सेयर स्वामित्व छ।
ज्योति विकास बैंक र साल्पा विकास बैंकमा एक प्रतिशतमाथि सेयर स्वामित्व कुनै पनि संस्थापकको छैन। (विकास बैंकमा सप्तकोसीकाे सेयर संरचनाबारे तथ्यांक प्राप्त भएको छैन। यो बैंकमा एक वा सोभन्दा बढी व्यक्तिगत संस्थापक ८ जना छन्। उनीहरु बैंक र वा व्यवसायी भन्ने विषय हालसम्म खुलेको छैन।)