काठमाडौं। चीनको प्रमुख अटोमोबाइल निर्माता कम्पनी जीली सडक सवारीका लागि कृत्रिम बौद्धिकता (एआई) सुरक्षामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले विश्वमै पहिलो आइएसओ ८८०० प्रमाणीकरण प्राप्त गर्दै एआई आधारित सवारी सुरक्षा मापदण्डमा अग्रणी स्थान सुनिश्चित गरेको हो।
आइएसओ ८८०० हालसालै विकास गरिएको एक अन्तर्राष्ट्रिय मापदण्ड हो, जसले सडक सवारीमा प्रयोग हुने एआई प्रणालीहरूको सुरक्षा, विश्वसनीयता र नैतिक व्यवहारहरू सुनिश्चित गर्न उद्देश्य राख्छ। यस प्रमाणीकरणले एआई प्रणालीको निर्णय क्षमता, डेटा सुरक्षा र आपत्कालीन परिस्थितिमा प्रतिक्रिया दिने क्षमताको मूल्यांकन गर्दछ।
यो मान्यता जर्मनीको राष्ट्रिय प्रमाणीकरण निकाय डिएकेकेएस जर्मन मान्यता निकायबाट प्रदान गरिएको हो। जसले तीनवटा प्रमुख अन्तर्राष्ट्रिय मापदण्ड-फङ्सनल सेफ्टी, अपेक्षित फङ्सनल सेफ्टी र एआई सेफ्टीमा आधारित इन्जिनियरिङ क्षमताको पुष्टि गर्छ।
डिएकेकेएस सन् २०१० देखि युरोपेली तथा अन्तर्राष्ट्रिय प्रमाणीकरण संरचनाभित्र समाहित भएको जर्मनीको आधिकारिक निकाय हो।

सन् २०२४ को डिसेम्बरमा अन्तर्राष्ट्रिय मापदण्ड संगठन आईएसओले सार्वजनिक गरेको आईएसओ/पीएएस ८८०० सवारी क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता प्रणालीहरूको सुरक्षाका लागि पहिलो विश्वव्यापी मान्यताप्राप्त मापदण्ड हो।
जीली अटोले प्रविधि नवप्रवर्तन, सुव्यवस्थित प्रक्रिया र रणनीतिक साझेदारमार्फत समग्र एआई सुरक्षा प्रणाली निर्माण गरिरहेको छ। यसले सफ्टवेयर, हार्डवेयर, चिप, प्रणाली, कार्यप्रणाली र आपूर्ति शृङ्खला सबै समेट्ने ढाँचामा काम गरिरहेको छ।
कम्पनीले युरोपेली संघ अन्तर्गतको एसजीएस अडिट पास गर्दै डिएकेकेएसबाट प्रमाणीकरण प्राप्त गरेको हो। सुरक्षा सधैं जीलीको प्राथमिकता रहँदै आएको छ। चीन अटोमोटिभ टेक्नोलोजी तथा अनुसन्धान केन्द्रका अनुसार जीलीले अहिलेसम्म १ हजार ५६२ वटा सवारी सुरक्षा प्रविधिमा पेटेन्ट दर्ता गरिसकेको छ।
यसअघि पनि कम्पनीले आईएसओ २६२६२ मा आधारित फङ्सनल सेफ्टीका लागि डिएकेकेएस जर्मनी र एएनएबी अमेरिकाबाट प्रमाणीकरण प्राप्त गरिसकेको थियो। आईएसओ २१४४८ मा आधारित अपेक्षित फङ्सनल सेफ्टीको प्रमाणपत्र पनि एएनएबी अमेरिकाबाट पाएको छ।
जीली अटोले आईएसओ ८८०० को प्रभावकारी कार्यान्वयनका लागि आफ्ना प्राविधिक टोलीहरूलाई लक्षित गरी विशेष तालिम कार्यक्रम संचालन गरिरहेको छ। यसमा एआई सुरक्षा जीवनचक्र व्यवस्थापन, सुरक्षा आवश्यकता विश्लेषण र डेटा गभर्नेन्स जस्ता विषयहरू समेटिएका छन्।

एआई प्रविधिहरू तीव्र गतिमा परिवर्तन भइरहेका बेला जीलीले सुरक्षा र प्रदर्शन दुबै सन्तुलनमा राख्ने प्रतिबद्धता जनाउँदै आएको छ। कम्पनीका अनुसार भविष्यमा पनि नवप्रवर्तनमार्फत एआई सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने छ।
जीली अटोमोबाइलमा ५० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। यसले १२ उत्पादन प्लान्ट, ५ अनुसन्धान तथा विकास केन्द्र र ५ डिजाइन स्टुडियो सञ्चालनमा ल्याएको छ। यस समूहअन्तर्गतको जीली अटोमोबाइल होल्डिङ सन् २००५ देखि हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनी हो।
जीली अटो ग्रुप अन्तर्गतका ब्रान्डहरुले सन् २०२४ मा २१ लाख ७० हजारभन्दा बढी गाडी बिक्री गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो।
जीली अटो ग्रुप चीनको हाङ्जाउमा आधारित एक अग्रणी अटोमोबाइल निर्माता कम्पनी हो, जसको स्थापना सन् १९९७ मा झेजियाङ जेली होल्डिङ ग्रुपअन्तर्गत गरिएको थियो। यस समूहअन्तर्गत जीली अटो, जिकर जस्ता प्रसिद्ध ब्रान्डहरू सञ्चालनमा छन्। साथै यो मलेसियाको राष्ट्रिय अटो कम्पनी प्रोटोनको पनि रणनीतिक साझेदार हो।