काठमाडौं। विश्वव्यापी ऊर्जा संक्रमण केन्द्रमा रहेको इलेक्ट्रिक गाडी (ईभी) उद्योगले नयाँ लागत दबाब सामना गर्न थालेको छ। विश्वकै ठूलो ब्याट्री उत्पादक चीनमा लिथियम ब्याट्रीको मूल्य १५ प्रतिशतसम्म बढेपछि ईभीको मूल्य बढ्ने देखिएको हो।
यसको असर प्रत्यक्ष रुपमा नेपाली उपभोक्तासमेतले बेहोर्नुपर्नेछ। खासगरी नेपालमा अधिकांश ईभी चीनबाट आयात हुँदै आएको छ। अहिलेसम्म आयात भइसकेका सवारीसाधनमा तत्काल मूल्य वृद्धि नदेखिए पनि आगामी दिनमा आयात हुने ईभीको मूल्य बढ्ने एक व्यवसायीले बताए। ‘ब्याट्री नै ईभीको मुख्य लागत हो, त्यसको मूल्य बढ्दा गाडीको मूल्य बढ्नु स्वाभाविकै हो,’ नेपालमा ईभीको लोकप्रियता बढ्दै गए पनि ब्याट्रीको मूल्यवृद्धि भार उपभोक्तामाथि सर्ने उनको भनाइ छ।
उनका अनुसार ईभी बिक्रेताले आयात लागत बढेपछि नयाँ लटमा आउने गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ, जसले गर्दा ग्राहकले पहिलेको तुलनामा बढी मूल्य तिर्नुपर्नेछ।
ब्याट्रीको मूल्यवृद्धिसँगै ईभीको मूल्य पनि बढ्ने सम्भावना छ। लिथियम आयन ब्याट्रीले नै गाडीको कुल लागतको आधा हिस्सा ओगट्ने भएकाले त्यसको मूल्यवृद्धिले उपभोक्तालाई महँगीको भार पर्न सक्ने देखिएको हो।
पछिल्लो समय नेपाली ईभी बजारमा तीव्र प्रतिस्पर्धा देखिएको र कम्पनीबीच ‘प्राइस वार’ का कारण मूल्य घटाएको अवस्थामा ब्याट्रीको मूल्यवृद्धिले यो प्रतिस्पर्धालाई चुनौती दिनेछ। लिथियम ब्याट्रीको विश्वव्यापी मूल्य लामो समयदेखि घट्दो क्रममा रहे पनि अहिलेको वृद्धिले तत्कालका लागि बजारमा अस्थिरता ल्याउन सक्ने देखिएको छ।
ईभीलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपभोक्ता आकर्षण बढिरहेका बेला ब्याट्रीको मूल्यवृद्धिले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप अन्योलमा पारेको छ।
लिथियम ब्याट्रीको मूल्य १५ प्रतिशतले वृद्धि
चिनियाँ ब्याट्री निर्माताले कच्चा पदार्थको बढ्दो लागत देखाउँदै ब्याट्रीको मूल्य बढाउने निर्णय गरेका छन्।
लिथियम ब्याट्री निर्माता डेजिया इनर्जीले कच्चा पदार्थ लागतमा उल्लेखनीय वृद्धि भएको कारण सन् २०२५ डिसेम्बर १६ देखि हालको मूल्यको आधारमा ब्याट्री उत्पादनको बिक्री मूल्य १५ प्रतिशतले बढाइने घोषणा गरेको छ। बजारमा लिथियम र अन्य कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण चिनियाँ कम्पनीले ब्याट्रीको मूल्य बढाएका हुन्।
चिनियाँ ब्याट्री निर्माता लिथियम आयोन ब्याट्रीको मूल्य बढाएसँगै ईभीको मूल्य पनि बढ्ने भएको छ। हालै चीनका धेरै लिथियम ब्याट्री सामग्री आपूर्तिकर्ताले माथिल्लो तहका कच्चा पदार्थको लागत बढ्नु र विश्वव्यापी ऊर्जा रुपान्तरण एकसाथ भएको माग वृद्धिका कारण मूल्यवृद्धिको सूचना जारी गरेका छन्। सोही कारण सन् २०२६ मा ईभीको मूल्य पनि बढ्ने आकलन गरिएको हाे।
सीएटीएल, बिवाईडीजस्ता कम्पनीका प्रमुख आपूर्तिकर्ता लिथियम–आयन ब्याट्री क्याथोड सामग्री उत्पादन गर्ने चीनको प्रमुख कम्पनी हुनान युनेंग न्यू इनर्जी ले सन् २०२६ जनवरी १ देखि लागू हुने गरी आफ्ना सबै लिथियम आइरन फस्फेट (एलएफपी) उत्पादनको प्रशोधन शुल्क प्रतिटन ३ हजार युआन (४२५ अमेरिकी डलर)ले वृद्धि गरिने घोषणा गरेको छ। साथै, बजार वा कच्चा पदार्थको मूल्यमा ठूलो उतारचढाव आए उत्पादन मूल्य पुनः परिवर्तन गरिने पनि जनाएको छ।
अहिले चिनियाँ बजारमा लिथिएम आइरन फस्फेट ब्याट्रीको हिस्स ८१.५ प्रतिशत रहेको छ। लिथियम ब्याट्रीमा प्रयोग हुने ‘सेप्रेटर’को मूल्य बढ्न जाँदा ब्याट्रीको मूल्यवृद्धि गर्नु परेको कम्पनीहरूको दाबी छ।