काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने अभियानस्वरुप बिचौलियामुक्त क्षेत्र घोषणा गरेको छ। विभागले सर्वसाधारणमाथि भइरहेको ठगी नियन्त्रण गर्न विशेष सुधार अभियान सञ्चालनमा ल्याएसँगै बिचौलिया निषेधित क्षेत्र घोषणा गरेको हो।
यो अभियानले बिचौलियाको भूमिका समाप्त पार्ने उद्देश्य लिएकाले सुधारका क्रममा फैलाइएका भ्रम गलत रहेको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताए।
उनका अनुसार हाल विभागले हाल दुई मिनेटमै श्रम स्वीकृति दिने व्यवस्था लागू गरेको छ, जसले श्रमिकलाई विगतमा भोग्नुपरेको झन्झट र अनावश्यक खर्च हुनबाट जोगाएको छ।
यसअघि श्रम स्वीकृतिका लागि लामो प्रक्रिया सामना गर्नुपर्ने, बिचौलियालाई घुस दिनुपर्ने अवस्था अन्त्य हुँदै गएको महानिर्देशक भट्टराईको दाबी छ।
‘श्रम स्वीकृति प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउँदै विभागले संस्थागततर्फ १११ मध्ये हाल १०३ देश र व्यक्तिगततर्फ १८५ मध्ये १७४ देशमा श्रम स्वीकृति दिने गरेको छ। विभागमा बिचौलियाबाट पीडित हुँदै आएका सर्वसाधारणले राहत पाउने अवस्था छ। यसलाई निरन्तरता दिन्छौं’, उनले भने।
विभागले वैदेशिक रोजगारको नाममा हुने ठगी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ।
ठगीमा परेका श्रमिकलाई क्षतिपूर्ति दिलाउन तीव्रता दिइए पनि व्यक्तिगत ठगीका उजुरी अस्वाभाविक रूपमा बढिरहेको हुँदा मुद्दा अभियोजन र म्याद थपमा जनशक्ति अभाव देखिएको भट्टराईले उल्लेख गरे। उजुरी तथा मुद्दा फछ्र्योट गर्न सबै राजपत्रांकित अधिकृतलाई अनुसन्धान अधिकृत तोकिएको उनले बताए।