काठमाडौं। वीरगन्जमा मुख्य कार्यालय रहेको निर्माण सामग्रीको थोक बिक्रेता कम्पनी सिद्धी विनायक प्राइभेट लिमिटेडले आफ्नो व्यवसाय जोगाउन रणनीति परिवर्तन गरेर नाफा मार्जिन सुधार गरेको छ।
अघिल्लो रेटिङको समयमा (२०२४ मा) १.४ प्रतिशतले ऋणात्मक (घाटामा) रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन पछिल्लो समय उल्लेख्य सुधार भई ८.३ प्रतिशत पुगेको छ। कम्पनीले कम नाफा हुने छडको बिक्रीलाई घटाएर बढी नाफा दिने ‘ह्वाइट सिमेन्ट’को कारोबारमा मुख्य ध्यान केन्द्रित गर्ने गरी आफ्नो व्यापारिक रणनीति परिवर्तन गरेको हो।
नाफा मार्जिनमा उल्लेख्य सुधार भए पनि कम्पनीको नगद प्रवाह र उधारो असुलीमा गम्भीर चुनौती खेपिरहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको करिब ५५ करोड रुपैयाँ बराबरको बैंक ऋणको रेटिङ नवीकरण गर्दै कम्पनीको वित्तीय स्वास्थ्यमा तरलताको ठूलो चाप रहेको औँल्याएको छ।
इक्रा नेपालले कम्पनीको १६ करोड ९० लाखको दीर्घकालीन ऋणका लागि ‘एलबी माइनस’ र ३८ करोडको अल्पकालीन ऋणका लागि ‘ए–फोर’ रेटिङलाई निरन्तरता दिएको छ। यी रेटिङहरूले कम्पनीसँग आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको र सुरक्षाको मात्रा निकै कम रहेको बुझाउँछन्।
कम्पनीको सबैभन्दा कमजोर पक्ष यसको ‘कार्यगत पूँजी व्यवस्थापन’ देखिएको छ। रिपोर्टअनुसार कम्पनीले बजारबाट उठाउनुपर्ने कुल उधारोमध्ये ७८ प्रतिशत उधारो ९० दिनभन्दा बढी समयदेखि उठेको छैन।
बजारमा यसरी ठूलो रकम फसेकाले कम्पनीले बैंकबाट पाएको ऋणको सीमाभन्दा १५७ प्रतिशत बढी रकम उपयोग गरेको छ। यसले कम्पनीमा तरलता (नगद) को चरम अभाव रहेको र बैंकको ऋण तिर्न सक्ने क्षमतामा दबाब परेको स्पष्ट पार्छ। यद्यपि, कम्पनीको ऋण र इक्विटीको अनुपात ७.१ गुणाबाट घटेर ३.९ गुणामा झर्नुलाई केही सकारात्मक मानिएको छ।
सन् २०१३ मा स्थापना भएको सिद्धी विनायक एक थोक व्यापारिक कम्पनी हो। यसले विशेषगरी सिमेन्ट, छड र अन्य आवास निर्माण सामग्रीहरूको ‘बल्क’ कारोबार गर्दै आएको छ। कम्पनीमा वीरगन्जका स्थापित व्यवसायी वैद्य परिवारको मुख्य लगानी छ। कम्पनीमा अशोक कुमार वैद्यको ६० प्रतिशत, विजय सिंह वैद्य र राज कुमार वैद्यको २०/२० प्रतिशत सेयर स्वामित्व छ। प्रवर्द्धकको यो क्षेत्रमा लामो अनुभव छ र उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेका अन्य १३ वटा कम्पनीहरूले पनि खुद्रा स्तरमा निर्माण सामग्रीकै व्यापार गरिरहेका छन्।
कम्पनीको वित्तीय विवरण अनुसार पछिल्लो चार वर्षमा आम्दानीमा निरन्तर गिरावट देखिएको छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको यो कम्पनीको कारोबार २०२४ मा ९० करोड ४० लाख र २०२५ मा आइपुग्दा ७३ करोड ७० लाखमा खुम्चिएको छ।
व्यापारको आकार घटे पनि कम्पनीले आफ्नो नाफा मार्जिनमा भने सुधार ल्याएको छ। कम नाफा हुने छडको व्यापार घटाएर बढी नाफा हुने ह्वाइट सिमेन्टो बिक्रीमा जोड दिएकै कारण कम्पनीको सञ्चालन नाफा मार्जिन बढेको रिपोर्टमा उल्लेख छ।
सिद्धी विनायकको व्यापारमा ‘केन्द्रिकरणको जोखिम’ निकै उच्च छ। कम्पनीको कुल व्यापारको ९४ प्रतिशत हिस्सा मधेस प्रदेशमा मात्रै सीमित छ। मधेस प्रदेशमा मात्र केन्द्रित व्यापार, सीमित ग्राहक संख्या र ९० दिन नाघेको ७८ प्रतिशत उधारो असुली गर्नु नै सिद्धी विनायकका लागि अबको मुख्य चौनौती रहेको रिपोर्टमा उल्लेख छ।
यसले गर्दा उक्त क्षेत्रको राजनीतिक वा आर्थिक वातावरणमा आउने सामान्य फेरबदलले पनि कम्पनीलाई ठूलो असर पार्ने देखिन्छ। त्यसैगरी, कम्पनीको कुल आम्दानीको ३७ प्रतिशत हिस्सा जम्मा तीन जना ठूला ग्राहकहरूमा निर्भर छ। यसरी सीमित भूगोल र थोरै ग्राहकमा भर पर्नु कम्पनीको व्यावसायिक दिगोपनाका लागि चुनौतीपूर्ण मानिएको रिपोर्टमा उल्लेख छ।