काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)लाई पुँजी पुर्याउने समय ९ महिना थप्न अर्थ मन्त्रालय प्रस्ताव पठाएको छ। सेबोनले धितोपत्र नियमावली, २०६४ संशोधनसहित म्याद थपको प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको हो।
गत साताको बोर्ड सञ्चालक समिति बैठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउने समय ९ महिना थप गर्ने गरी नियमावली संशोधन मस्यौदा मन्त्रालयमा पठाएको छ। हाल २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन सकेका छैनन्।
चालू आर्थिक वर्षको नाफालाई पुँजीकरण गर्न ६ महिना पर्याप्त नहुने भएकाले २०८२ चैतसम्म तोकिएको पुँजी पुर्याउने समय थप्न सेबोनले अर्थसमक्ष आग्रह गरेको बुझिएको छ।
बोर्डले ४२ वटा स्टक ब्रोकरलाई लाइसेन्स दिए पनि सञ्चालनमा रहेका सेयर ब्रोकरका लागि पुँजी पुर्याउनने अवधि २०८२ असारसम्म छ।
बोर्डले गत २०८१ पुस ८ मा पुँजी नपुगेका ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने योजना मागेको थियो। चालू आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पुर्याउन नसक्ने कम्पनीले पुँजी थप्नुपर्ने वा मर्जरमा जाने विकल्प छ।
धितोपत्र बोर्डले २०७९ मा नयाँ ब्रोकरलाई लाइसेन्स दिन न्यूनतम पुँजी बढाउँदै धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरेको थियो।
संशोधित नियमावलीअनुसार सीमित कारोबार गर्ने ब्रोकरको पुँजी २० करोड, पूर्ण कारोबार गर्नेको ६० करोड र स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ।