काठमाडौं। हुन्डाई मोटर इन्डियाले तमिलनाडुलाई भारतको ‘फ्ल्यागशिप इलेक्ट्रिक भेहिकल (ईभी) हब’ बनाउने घोषणा गरेको छ। कम्पनीले तमिलनाडु सरकारसँगको सहकार्यमा युवाहरूको सीप विकास तथा रोजगारी क्षमता अभिवृद्धि गर्ने विशेष कार्यक्रमसमेत अघि बढाएको छ। उक्त पहल सन् २०२७ को डिसेम्बरदेखि सञ्चालनमा आउने बताइएको छ।
तमिलनाडुस्थित प्लान्टमा हुन्डाईले ईभी पावरट्रेनका लागि आफ्नो पहिलो ब्याट्री सब एसेम्बली प्लान्ट स्थापना गरेको छ। साथै, पावर इलेक्ट्रोनिक्स सहित प्रमुख कम्पोनेन्टहरूलाई सक्रिय रूपमा स्थानीयकरण समेत गरिरहेको छ। यसबाट तमिलनाडुलाई भारतको अग्रणी ईभी उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तरुण गर्गले यस पहलले तमिलनाडुको दिगो गतिशीलता (सस्टेनेबल मोबिलिटी) र अटोमोबाइल उत्कृष्टतामा नेतृत्वलाई थप सुदृढ बनाउने तथा भविष्यका लागि आवश्यक दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
उनका अनुसार कम्पनीले चेन्नईस्थित उत्पादन केन्द्रबाट यसै वर्ष दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। तीमध्ये एउटा कम्पनीको पहिलो ‘मास मार्केट’ लक्षित पूर्ण रूपमा समर्पित इलेक्ट्रिक गाडी हुनेछ। यसले भारतमा ईभीको प्रयोग विस्तार गर्न र बलियो ईभी इकोसिस्टम निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गर्गले ईभी उत्पादनका लागि आवश्यक स्थानीयकरणलाई तीव्र बनाउँदै भविष्यका अटोमोबाइल प्रविधिलाई समर्थन गर्ने दक्ष जनशक्ति विकासमा पनि कम्पनीले समान रूपमा ध्यान केन्द्रित गरिरहेको बताए।
हुन्डाईले आगामी दिनमा युवाहरूलाई इलेक्ट्रिक भेहिकल, हाइड्रोजन मोबिलिटी, रोबोटिक्स, अटोमेसन, कृत्रिम बुद्धिमत्ता (एआई) आधारित उत्पादन प्रणाली तथा स्मार्ट म्यानुफ्याक्चरिङ जस्ता अत्याधुनिक प्रविधिमा प्रशिक्षण प्रदान गर्ने जनाएको छ। यसबाट राज्यभित्र मात्र नभई भारत र अन्तर्राष्ट्रिय श्रम बजारमा समेत रोजगारीका अवसर सिर्जना हुने विश्वास कम्पनीको छ।
तमिलनाडु सरकार र हुन्डाईबीचको सहकार्यअन्तर्गत युवाहरूलाई कार्यस्थलमा आवश्यक सञ्चार सीप तथा भाषागत दक्षता विकाससम्बन्धी तालिम पनि प्रदान गरिनेछ, जसले उनीहरूको रोजगार गतिशीलता बढाउने अपेक्षा गरिएको छ।
कम्पनीले ईभी तथा आन्तरिक दहन इन्जिन दुवै प्रकारका सवारी उत्पादनमा स्थानीयकरण बढाउने योजना सार्वजनिक गर्दै हालको ८२ प्रतिशत स्थानीयकरण दरलाई आगामी पाँचदेखि छ वर्षभित्र ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको जनाएको छ।
त्यसैगरी, तमिलनाडुस्थित आपूर्तिकर्ताबाट खरिद गरिने सामग्री तथा सेवाको मूल्य करिब ४ हजार करोड भारतीय रुपैयाँले वृद्धि गर्ने योजना पनि कम्पनीले अघि सारेको छ। यसबाट आगामी पाँचदेखि छ वर्षभित्र राज्यमा थप करिब २ हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। सो प्लान्टलाई आधुनिकिकरण गरी उत्पादन क्षमता विस्तार गर्न हुन्डाईले यसअघि नै २६ हजार करोड लगानी गर्ने बताएको थियो। उक्त रकम सन् २०३२ सम्ममा लगानी हुने र यसले तमलिनाडुलाई हुन्डाईको ईभी हब बनाउन मद्दत गर्ने जनाइएको छ।