काठमाडौं। घट्दो आम्दानीको मारमा परिरहेका नेपाली टेलिकम कम्पनीका लागि पछिल्लो प्रविधिमा आधारित ’ई–सिमकार्ड’ विस्तार हुनसके उत्पादन लागत र सञ्चालन खर्च घटाउँदै नाफा विस्तार गर्न सकिने औजार बन्न सक्ने देखिएको छ।
नेपालका टेलिकम कम्पनीले भौतिक सिम निर्माण र ब्रान्डिङ र प्याकेजिङ गर्न निर्माणकर्ता कम्पनीहरूसँग बल्कमा खरिद गर्ने भएकाले प्रतिसिम यत्तिनै खर्च हुन्छ भन्न सक्दैनन्।
’हामिले बल्कैमा खरिद गर्छौं त्यसैले यत्तिनै पर्छ भन्न सकिँदैन, सबै फोनमा ई–सिम चल्दैन त्यसैले दुवै खालका सिम बिक्रीवितरण भइरहेका छन्, ’एनसेल प्रतिनिधिले क्यापिटल नेपालसँग भने, विस्तारै प्रयोगकर्ता बढ्दै जाँदा कम्पनीको सिम खरिद खर्च घट्दै जाने देखेका छौँ।’
टेलिकम कम्पनीहरूले भौतिक सिम निर्माण, ब्रान्डिङ र प्याकेजिङ गर्न सरदरमा ३० देखि ५० रुपैयाँसम्म खर्च गरिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको चालू आर्थिक वर्ष वैशाखसम्मको एमआईएस रिपोर्टअनुसार दुई कम्पनीका मोबाइल सेवातर्फ दुई करोड ६२ लाख ५२ हजार १७६ प्रयोगकर्ता रहेका छन्। यिनै ग्राहकले प्रयोग गरिरहेका भौतिक सिम ई–सिममा परिवर्तन हुने क्रम सुरु भएको छ।
यो तथ्यांकलाई आधार मान्ने हो भने ई–सिम टेलिकमको खर्च घटाउँदै नाफा जोगाउने औजार बन्न सक्ने देखिन्छ। जसका लागि सेवाप्रदायकले उचित व्यवस्थापन र व्यापक प्रर्वद्धनमा भने ध्यान दिनु जरुरी छ।
ई–सिम भनेको केवल सिमकार्डको डिजिटल रूप मात्र होइन,यो भविष्यको मोबाइल नेटवर्क संरचना परिवर्तन गर्ने प्रविधि हो। टेलिकम कम्पनी र ग्राहक दुवैलाई यसले लामो समयका लागि लाभ दिनेछ।
नेपालमा उपलब्ध सबै फोन स्मार्ट र ई–सिम सपोर्ट गर्ने खालका छैनन्। तर, महंगा फोन सेट भित्रिने क्रम भने बढ्दो देखिन्छ। यसको प्रमाण हो नेपालमा बढ्दो उच्च मूल्य रेञ्ज भएको आईफोनका प्रयोगकर्ता बढ्नु तथा मध्यम मूल्य रेञ्ज र परिष्कृत प्रविधि र फिचरहरू भएका समासङ, साओमी जस्ता स्मार्टफोनको बजार हिस्सा बढ्नु हाे। नेपालको मोबाइल बजारको आधाभन्दा बढी हिस्सा यिनै तीन कम्पनीका मोबाइलले ओगटेका छन्।
नेपालमा पहिलोपटक नेपाल टेलिकमले ई–सिम सुरु गरेको थियो। तर, विस्तारमा भने सुस्त गति छ। दूरसञ्चार प्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र एनसेल नेपालको तथ्यांकअनुसार नेपालको मोबाइल नेटवर्कभित्र ई–सिम प्रयोगकर्ताको संख्या तीन लाख ७६ हजार बढि पुगेका छन्। पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकमका ई–सिम प्रयोगकर्ता दुई लाख २६ हजार ४०० बढी छन् भने एनसेलका एक लाख ५० हजार बढी ई–सिम प्रयोग कर्ता छन्।
कसरी हुन्छ आम्दानी?
ई–सिम प्रयोग गर्दा भौतिक कार्ड निर्माण, प्याकेजिङ र वितरणको लागि लाग्ने खर्च कम हुन्छ। यसले कम्पनीको सञ्चालन खर्च घटाउँदा नाफा बढ्न मद्दत मिल्छ। अर्थात, वार्षिक औसतमा १ लाख सिमकार्ड (नयाँ वितरण तथा हराए, बिग्रिए पुर्नंवितरणमा) बिक्री हुन्छ। त्यसको उत्पादनमा ५० लाख बढी खर्च हुन्छ। ई–सिमले यस्तो खर्च कटौती गर्छ।
भौतिक सिम कार्डहरू स्टोर र प्रबन्ध गर्न लाग्ने अतिरिक्त व्यवस्थापन खर्च पनि घट्छ। ग्राहकले अफिसमा नगएरै सेवा सुरु गर्न सक्ने हुँदा स्टाफ,काउन्टर र डिलरको खर्च कम हुन्छ। यस्तो सञ्चालन खर्च कम हुँदा नाफामा स्वतःटेवा पुग्छ।
पहिलो पटक ई–सिमकार्ड खरिद गर्नेलाई नेपाल टेलिकमले प्रतिसिम ५० रुपैयाँसम्म लिने गरेको छ। त्यस्तै, एनसेलले प्रतिसिम १०० रूपैयाासम्म लिने गरेको छ। सोही नम्बरको सिमकार्ड पुनःवितरण गर्नुपर्दा टेलिकमहरूले निश्चित मूल्य लिन सक्छन् जुन कम्पनीहरूको अतिरिक्त आम्दानी बन्न सक्छ।
जारी भएका २ करोड ६२ लाख सिमकार्डको २० प्रतिशत मात्रै सिमकार्ड ई–सिममा रुपान्त्रण गर्न सक्ने हो भने ५२ लाख ४० हजार सिम हुन आउँछ। प्रति सिमकार्ड १०० न्यूनतम् शुल्क लिने हो भने ५२ करोड ४० लाख हुन आउँछ।
यसमा टेलिकम कम्पनीलाई अर्को फाइदा जतिपटक फोनसेट परिवर्तन गर्यो प्रयोगकर्ताले त्यतिनै पटक सिमको मूल्य तिर्नुपर्छ। भौतिक कार्ड जस्तो एकपटक लिएपछि नबिग्रिए/नहराएसम्म जतिवटा डिभाइसमा पनि नि:शुल्क सार्न मिल्दैन, हरेक पटक नयाँ शुल्क तिरेर एक्टिभेट गर्नुपर्छ।
यो पनि पुनःआम्दानीको बाटो हुनसक्छ। पहिलो एकपटक भौतिक सिम बाट ई–सिममा परिवर्तन गर्दा एनलेसले १०० रुपैयाँ र नेपाल टेलिकमले ५० रुपैयाँ लिने गरेका छन्। सुरुआतकै चरणमा भएकाले त्यसपछि कुनै शुल्क लिएका छैनन्।
विभिन्न अध्यायनहरुले विश्वका मानिसहरुले औषतमा २.५ वर्षमा मोबाइल सेट परिवर्तन गर्छन्। जति फोनसेट परिवर्तन हुन्छन् त्यतिनै पटक नयाँ कनेक्सनको लागि प्रोफाईल डाउनलोड हुन्छन्। अर्थात दशकौंसम्म एउटै सिम फरकफरक फोनमा प्रयोग हुने छैन। यो निरन्तर भइरहने आम्दानी पनि बन्न सक्ने टेलिकम कम्पनीको बुझाइ छ।
लामो समयसम्म एउटै सिम फरकफरक डिभाइसमा प्रयोग हुने छैन। यो निरन्तर भइरहने आम्दानी पनि बन्न सक्छ, एनसेल प्रतिनिधिले भने, ’अहिले यस्तो शुल्क हामिले लिएका छैनौं।’ भविष्यमा ई–सिमको प्रयोग कहाँसम्म पुग्छ आँकलन गर्न नसकिएला? तर, फोनसेट र मोडियमभन्दा बाहिर पनि बजार रहको छ। अर्थात, नविनतम प्रविधि प्रयोग भएका स्मार्टफोन मात्रै नभई स्मार्टवाच, स्मार्ट चस्मा, ल्यापटप, लक्जरी सवारीसाधन, जीपीएस र इन्टरनेट अफ थिङस (आइओटी) जस्ता नयाँ बजारहरुमा पहुँच भने बढाउँछ। धेरै ग्राहकलाई छिटो जोड्न सकिने हुँदा यसले सेवाको विश्वसनीयता समेत बढाउँछ।
टेलिकमका प्रवक्ता रविन्द्रमान मानन्धरका अनुसार यस्ता उपकरणमा ई–सिम सञ्चालन गर्न सिम ईस्टल गर्न चाहिने सफ्टवेरको लागि अनुमति लिई खरिद समेत गर्नुपर्छ। ’ई–सिम मोबाइल बाहेक अन्य धेरै उपकरणमा ईन्टल गरी चलाउन सकिन्छ, त्यस्ता डिभाइसमा ईनविल्ड सिम हुने भएकाले यसको लागि उपकरण निर्माता कम्पनीहरुसंग अनुमति लिई सफ्टवेर खरिद गर्नुपर्छ। हाल मोबाइलको मात्रै लाइसेन्स लिएका छौं,’ उनले भने, ’ई–सिमले सफ्ट्वेरमा लाग्ने शुल्क बाहेकको अन्य खर्च घटाउँछ।’
ग्राहकलाई के फाइदा
फिजिकल सिमको झन्झट हट्छ भने सिम हराउने, बिग्रिने वा काट्नुपर्ने समस्याबाट छुट्कारा मिल्छ। नयाँ मोबाइलमा केवल प्रोफाइल डाउनलोड गरेर तुरुन्त सञ्चालन गर्न सकिने हुँदा फोन परिवर्तन गर्दा सजिलो हुन्छ। धेरै स्मार्टफोनमा ई–सिम र भौतिक सिम एउटै फोनमा चलाउन सकिन्छ।
विदेशबाट आउने पर्यटक वा कामदारले अनलाइनबाटै सेवा लिने सक्छन् भने विदेश यात्रा गर्दा विदेशी नेटवर्क प्रोफाइल तुरुन्त डाउनलोड गरी सञ्चालन गर्न सक्छन्। सिम कार्ड उत्पादन नहुने हुँदा प्लास्टिक फोहोर कम हुने हुँदा वातावरण मैत्री हुन्छ।
फोन सेट हराउँदा वा चोरी हुँदा भौतिक सिम कार्ड जस्तो सिम झिकेर भाँचेर फाल्न नमिल्ने, नेटवर्क तथा डाटा कनेक्टीभिटी समेत चालु राख्ने वा बन्द गर्ने भन्ने आफ्नै कन्ट्रोलमा हुँदा ट्राकिङ गरी पत्ता लगाउन सजिलो हुन्छ। यस्ता सेवा चल्ले फोन ट्रयाकर एप्लिकेशनहरू मोबाइल निर्माता कम्पनीहरूले पहिलेनै ईन्स्टल गरेका हुन्छन् भने कतिपय एप्लिकेशनहरू प्लेस्टोरमा पनि पाउन सकिन्छ।
कति फोन हराउँछन् नेपालमा
प्राधिकरणका प्रवक्ता तथा निर्देशक मीनप्रसाद अर्यालकाअनुसार प्राधिकरणले फोनको आईएमईआई (इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी) नम्बर ट्र्याक गर्ने यसरी ट्र्याक भएका फोनमा कुन नम्बर चलिरहेको छ भन्ने पत्ता लाग्ने बताए। यो जानकारी स्वचालित प्रणालीमार्फत सम्बन्धित व्याक्तिलाई समेत जाने गरेको छ। अर्यालकाअनुसार ट्रयाक भएकामध्ये कति फोन भेटिएकाे जानकारी भने प्राधिकरणमा हुँदैन।
’हाम्रो सिस्टमले आईएमईआई नम्बरबाट ट्र्याक गर्ने यसरी ट्र्याक भएका फोनमा कुन नम्बर चलिरहेको छ भन्ने पत्ता लाग्छ। त्यो नम्बर प्रहरीलाई दिने गरेका छौं, कति भेटिए भन्ने हामिलाई थाहा हुँदैन,’ उनले भने।
ई–सिम प्रयोग भएको फोनमा भाैतिक सिम जसरी सहजै परिवर्तन गर्न नमिल्ने हुँदा उक्त फोन पाउने/भेटाउनेलाई भने काम नलाग्ने हुन सक्छ।
नेपाल दुरसञ्चार प्राधिकरणकाअनुसार वार्षिक ४० हजार बढी फोन सेट हराएको भन्दै प्राधिकरणको फोन ट्र्याकिङ सिस्टममा आवेदन आउने गरेको छ। हालसम्म १ लाख ९ हजार २०८ फोन हराएको आवेदन आएकोमा ७२ हजार ३२० फोन ट्र्याकिङ भएका थिए।
अर्यालकाअनुसार चालू आर्थिक वर्ष ०८१/८२ मा मात्रै ४० हजार ४४६ फोन ट्र्याकिङको लागि आवेदन आएका छन्। जसमा ३५ हजार ४७८ फोन नेटवर्कमा ट्र्याक भएका थिए।
कसरी काम गर्छ?
ई-सिम मोबाइल डिभाइसभित्रै जडान गरिएको एक डिजिटल सिम हो। यो भौतिक सिम कार्ड जस्तो निकाल्न, राख्न नपर्ने हुँदैन सिधै मोबाइल नेटवर्कमा जडान गर्न सकिन्छ। टेलिकम कम्पनीका वेबसाइटमा गएर सिम एप्लिकेशन भर्नुपर्छ।
एप्लिकेशनका लागि ग्राहकले टेलिकमले उपलब्ध गराउने क्युआर कोड स्क्यान गर्नुपर्छ। फोनमा सिम प्रोफाइल डाउनलोड हुन्छ भने मोबाइल नेटवर्क सिधै कन्फिगर हुन्छ।
ओटीपी प्रमाणीकरण र सिस्टममा लगइन गर्न तपाईंको मोबाइल नम्बर सक्रिय अवस्थामा हुनुपर्छ। ई–सिमको शुल्क तिर्नको लागि तपाईंसँग मुख्य ब्यालेन्स (अपरेटरले तोके बमोजिम) हुनुपर्छ। ई–सिमको लागि अनलाइन आवेदन दिनको लागि तपाईंको प्रोफाइल टेलिकमको रेकर्डमा अपडेट गरिएको हुनुपर्छ।
-1751539256.jpg)