काठमाडौं। विदेशी पर्यटकलाई नेपाल घुम्न आउँदा नियम संगत सीमित नगद बोक्नुपर्ने बाध्यता पछिल्लो समय घट्दै गएको छ। अन्तरदेशीय भुक्तानी (क्रस बोर्डर पेमेन्ट) सुरु हुँदा यो सम्भव हुँदै गएको हो।
नेपालको भुक्तानी सञ्चालक ‘फोनपे’ले २०८१ फागुनदेखि नेपाल आउने भारतीय नागरिकले फोनपेमार्फत् भुक्तानी सुरु गरेको थियो। फोनपेले भारतको युनिफाइड पेमेन्टस् इन्टरफेस (यूपी)सँग सहकार्य गरेर भारतसँग क्रस ब्रोर्डर पेमेन्ट सुरु गरेको डेढ वर्ष नपुग्दै २७ करोड रुपैयाँ बढी भुक्तानी भारतीय नागरिकले फोनपेमार्फत् गरिसकेका छन्।
अब नयाँ आर्थिक वर्षदेखि चीनलगायत एक दर्जन देशका पर्यटक नेपाल आउँदा नगद बोक्नुपर्ने झन्झट मुक्त हुने गरी अन्तरदेशीय क्यूआर भुक्तानी सुरु गरिने फोनपेका प्रमुख सञ्चालन अधिकृत (सिओओ) पारस कुँवरले बताए।
‘ढिलामा नयाँ आर्थिक वर्षलगत्तै अलिपे प्लससँगको सहकार्यमा फोनपेले १३ वटा देशको नागरिकले नेपालको फोनपे क्यूआर भुक्तानी सुरु हुन्छ,’ फोन पेका सिओओ कुँवरले क्यापिटल नेपालसँग भने, ‘साउनदेखि अलिपे प्लसका सम्पूर्ण नेटवर्कमा भएको विभिन्न देशको वालेटबाट नेपालको फोनपेमा क्यूआर भुक्तानी गर्न मिल्छ।’
साउन १ गतेदेखि चीन, कोरिया, थाइल्याण्ड, सिंगापूरलगायत १३ देशका पर्यटक नेपाल आउँदा विभिन्न १८ वटा अन्तर्राष्ट्रिय वालेटहरुमार्फत् नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन्।
फोनपेले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनेदेखि आफ्नोतर्फका सबै काम गत जेठमै सम्पन्न गरेको थियो। तर, अलिपेले परीक्षण प्रयोगका लागि २ साताको समय माग गरेपछि समय लम्बिएको उनले जानकारी दिए। फोनपेले अलिपे प्सलसँग ५ महिनाअघि उसको नेटवर्कका सबै वालेटबाट फोनपेमा भुक्तानी गर्न मिल्ने गर्नेबारे सम्झौता गरेर काम सुरु गरेको थियो।
साउन एक गतेदेखि चीन, कोरिया, थाइल्याण्ड, सिंगापूरलगायत १३ देशका पर्यटक नेपाल आउँदा विभिन्न १८ वटा अन्तर्राष्ट्रिय वालेटहरुमार्फत् नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन्।
साउनदेखि फोनपेको अन्तरदेशीय भुक्तानीका देश
हाल फोनपेको नेटवर्कमा हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंक १८ वटा वाणिज्य बैंक, कर्पोरेट डेभलपमेन्टबाहेक १६ विकास बैंक, १४ वटा वित्त कम्पनी, एक माइक्रोफाइनान्स, इसेवा, खल्ती, आइएमई पेलगायत ९ वटा भुक्तानी प्रदायक (वालेट)हरु आवद्ध छन्।
साउनदेखि फोनपेमा आवद्ध भएका उल्लेखित बैंक तथा वित्तीय संस्था र वालेटहरुको क्यूआरमा चीनको अलिपे वालेटबाट चिनियाँ युआन, कोरियाको काकाओपे वालेटबाट कोरियन वोन, मलेशियाको टच इन गो वालेटबाट मलेशियन रिंग्गिट र फिलिपिन्सको जीक्याश वालेटबाट फिलिपिनी पेसो, थाइल्यान्डको ट्रू मनी वालेटबाट थाई भाट र हङकङको अलिपे एचके वालेटबाट हङकङ डलर नेपालमा पेमेन्ट गर्न मिल्छ।
साथै, इटालीको तिनाबा वालेटबाट युरो, मकाउ चीनको एम्पे वालेटबाट मकाउ पाटाका, सिंगापुरको ओसीबीसी वालेटबाट सिंगापुर डलर, सिंगापुरकै चाङिपे वालेटबाट सिंगापुर डलर, मङ्गोलियाको हाइपे वालेटबाट मंगोलियन टुग्रिक, कोरियाको नेभर पे वालेटबाट कोरियन वोन, कोरियाकै टस पे वालेटबाट कोरियन वोन, मलेशियाको पीबीबी वालेटबाट मलेशियन रिंग्गिट, सिंगापुरको बिगपे एसजी वालेटबाट सिंगापुर डलर, मलेशियाको बिगपे एमवाई वालेटबाट मलेशियन रिंग्गिट, थाइल्यान्डको बिगपे टीएच वालेटबाट थाई भाट र जर्मनीको ब्लूकोड वालेटबाट युरो नेपालको फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।
सुगमदेखि दूर्गमसँग फोनपेको नेटवर्कमा क्रसबोर्डर पेमेन्ट, पर्यटन प्रवर्द्धनमा सहयोग
यसअघि नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले २०८१ फागुनमै अलिपे प्लसमाको नेटवर्कमा भएका वालेटमार्फत् भुक्तानी सेवा सञ्चालन गर्न स्मार्ट च्वाइस टेक्नोलोजी र एभरेष्ट बैंकसँग सम्झौता गरेर क्रसबोर्डर पेमेन्ट सुरु गरेको छ। एनसिएचएलले चीन, फिलिफन्स, सिंगापूर, मलेसिया, थाइल्यान्ड, साउथ कोरिया, इटालीलगायतका देश नागरिकले नेपाल पे क्यूआरर स्मार्ट क्यूआरमार्फत नेपालमा भुक्तानी गर्न पाइरहेका छन्।
पछिल्लो समय नेपालको सुगम क्षेत्रदेखि विकट दुर्गम क्षेत्रसम्म फोनपे पुगेको अवस्था छ। त्यसैले फोनपेले अलिपे प्लससँग सहकार्य गरेर साउनदेखि सुरु गर्ने क्रसबोर्डर पेमेन्टले कम्पनीको व्यवसाय मात्रै नभएर पर्यटन संख्या वृद्धि भएर देशको विदेशी विनियम सञ्चितीमा र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ।
हाल यसतो भुक्तानी फोनपेले परीक्षणमा सञ्चालन गरिरहेको छ। परीक्षणका क्रममा फोनपेमा ८ वटा वाणिज्य बैंक र इसेवा आबद्ध भइसकेका छन्। बाँकी एक महिनाभित्रै आउने गरी आवद्धताको क्रममा रहेको कम्पनी सिओओ कुँवरले बताए।
अलिपे प्लसबाट १३ देश भनिए पनि ९० प्रतिशत चीनका नागरिकले प्रयोग हुँदा चीनतर्फबाट पर्यटक प्रवर्द्धनमा सरकारले समेत क्रसबोर्डर पेमेन्टको प्रचार प्रसार गर्नुपर्ने उनको भनाइ छ।
कम्पनीको व्यवसाय मात्रै होइन नेपाल आउने पर्यटकले गर्ने खर्च बढ्ने हुन्छ भने ठूला होटल व्यवसायदेखि स–साना पसलसम्मको कारोबार बढ्छ। नेपालमा भुक्तानी सहज भएपछि नेपाल आउने पर्यटकसमेत बढ्छन्।
अलिपे प्लसबाट १३ देश भनिए पनि ९० प्रतिशत चीनका नागरिकले प्रयोग हुँदा चीनतर्फबाट पर्यटक प्रवर्द्धनमा सरकारले समेत क्रसबोर्डर पेमेन्टको प्रचार प्रसार गर्नुपर्ने उनको भनाइ छ।
क्रस बोर्डर पेमेन्टको प्रचारमार्फत पर्यटक वृद्धिको लक्ष्य
क्रस बोर्डर पेमेन्टले चीनबाट आउने पर्यटकले गर्न खर्च बढाउने मात्रै नभएर यहाँको व्यापार व्यावसाय पनि बढ्ने हुन्छ। सन् २०२५ को पहिलो ६ महिना (जनवरीदेखि जुनसम्म) ५ लाख ७७ हजार ६८९ जना पर्यटक नेपाल भित्रिएका छन्। जसमा भारत र चीनबाट आउने पर्यटकहरुको संख्या बढी रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
कोभिड महामारी पछि नेपालमा भ्रमणका लागि आउने चिनियाँ पर्यटकहरु सीमित भएका थिए। बोर्ड प्रवद्र्धन कार्यक्रमसँगै भारत र चीनलगायतका देशमा सुरु भएको क्रस बोर्डर पेमेन्टले पर्यटक वृद्धिमा सहयोग पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशी बताउँछन्।
बोर्डले उल्लेख गरेअनुसारको पर्यटक नेपाल भित्रिएमा हालसम्मको सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको रेकर्ड हुनेछ। बोर्डले पर्यटन प्रवर्द्धन गर्न प्रचार प्रसारका कार्यक्रममा क्रस बोर्डर पेमेन्टलाई पनि राखेको छ।
‘२०२५ साढे १३ लाख जना पर्यटक भित्रिने देखिन्छ। तर, चीनबाट आउने पर्यटक कोभिडअघिको जस्तो छैन ५०/६० हजार कम नै छ,’ बोर्डका सिइओ जोशीले क्यापिटल नेपालसँग भने, ‘यसलाई बढाउन बोर्डले आवश्यक काम गरिरहेको छ भने क्रस बोर्डर पेमेन्ट सुरु भएपछि थप सहयोग हुन्छ। भुक्तानी सहज भएपछि यहाँ आउने पर्यटक पनि बढ्छन्।’
बोर्डले उल्लेख गरेअनुसारको पर्यटक नेपाल भित्रिएमा हालसम्मको सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको रेकर्ड हुनेछ। बोर्डले पर्यटन प्रवर्द्धन गर्न प्रचार प्रसारका कार्यक्रममा क्रस बोर्डर पेमेन्टलाई पनि राखेको छ। यसले गर्दा नेपाल भ्रमणमा आउन चाहने विदेशी नागरिको सोधपुछ पनि बढेको हुँदा सन् २०२६ मा बोर्डले पर्यटक आगमनको लक्ष्यसमेत निर्धारण गरिससकेको सिइओ जोशीले बताए।
‘एयरपोर्ट र सडक सञ्जाल पूर्वाधारमा आएको सुधार, भुक्तानीमा सहजताको कारणले नेपाल भ्रमणमा आउन चाहनेहरु बढ्दो छ। सन् २०२६ मा कुल १५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ। जसमा साढे २ लाख देखि ३ लाखसम्म चीनबाट पर्यटक भित्र्याउने लक्ष्य बोर्डले राखेको छ,’ उनले भने।