काठमाडौं। सन् २०२५ को पहिलो ६ महिनामा चीनका प्रमुख अटोमोबाइल कम्पनीले उत्कृष्ट बिक्री गरेका छन्। ६ महिने अवधिमा चीनका प्रमुख अटो कम्पनी बिवाईडी र एसएआईसीले उत्कृष्ट बिक्री गरेका हुन्।
चिनियाँ अटोमोबाइल कम्पनीले सन् २०२५ को पहिलो ६ महिनामा करिब ९० लाख युनिट सवारीसाधन बिक्री गरेका छन्। यस अवधिमा बिवाईडी र एसएआईसीले २० लाख युनिटभन्दा धेरै बिक्री गरेका छन्। मूल्य प्रतिस्पर्धा मध्यम भए पनि चीनले ल्याएको पुराना गाडी फेर्ने अनुदान र घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा बिक्री उल्लेखनीय रहेको चिनियाँ मिडिया द पेपरले जनाएको छ।
चीनका ६ वटा ठूला अटो कम्पनीले पहिलो ६ महिनामा ८७ लाख ९२ हजार ९ सय युनिट गाडी बिक्री गरेका छन् भने यस अवधिमा धेरै कम्पनीले बिक्रीमा कीर्तिमान कायम गरेका छन्। बिक्री प्रतिस्पर्धामा बिवाईडी पहिलो स्थानमा रहँदा एसएआईसी दोस्रो स्थानमा छ।
सन् २०२५ को ६ महिनामा बिवाईडी र एसएआईसी ग्रुपले २१ लाखभन्दा बढी गाडी बिक्री गर्न सफल भएका छन् भने जीली अटोले बिक्रीको वार्षिक लक्ष्य बढाएको छ। हाल नयाँ ऊर्जा सवारीसाधन (एनईभी) बिक्री वृद्धिको प्रमुख आधार बनिरहेका छन्। यद्यपि बिवाईडीले विदेशमा राम्रो प्रगति गरेको देखिए पनि अन्य कम्पनी निर्यात वृद्धिमा सुस्त छन्।
यस्तो छ बिक्री तथ्यांक
बिवाईडी
बिवाईडीले सन् २०२५ को पहिलो ६ महिनामा २१ लाख ४६ हजार युनिट गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.०४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले १६ लाख १३ हजार युनिट गाडी बिक्री गरेको थियो। बिवाईडीले जुन महिनामा मात्रै ३ लाख ८२ हजार ६०० युनिट गाडी बिक्री गरेको छ। गत वर्षको सोही अवधिमा ३ लाख ४१ हजार ७०० युनिट बिक्री गरेको थियो।
बिवाईडी क्यूआइएन मोडलको ६ महिने बिक्री २ लाख ७४ हजार युनिट पुगेको छ भने सिगल मोडल बिक्री २ लाख ८४ हजार युनिट रहेको छ। यी दुवैले लिपमोटरको २ लाख २१ हजार युनिट बिक्रीलाई पार गरेका छन्।
एसएआईसी ग्रुप
सन् २०२५ को ६ महिनामा एसएआईसी ग्रुपको २० लाख ५३ हजार युनिट गाडी बिक्री भएको छ। यो बिक्रीसँगै एसएआईसी ग्रुपको बिक्री १२.४ प्रतिशतले वृद्धि भएको हो।
एसएआईसीले जुनमा ३ लाख ६५ हजार युनिट गाडी बिक्री गरी २१.६ प्रतिशत वृद्धि गरेको छ। लगातार ६ महिनादेखि बिक्री वृद्धि हुँदै आएको छ। एचवान (बिक्री तथ्यांक)मा थोक बिक्री २० लाख ५३ हजार युनिट पुगेको छ भने खुद्रा बिक्री २२ हजार ७ लाख युनिट भएको कम्पनीको दाबी छ। कम्पनीका स्वतन्त्र ब्रान्ड, एनईभी र अन्तर्राष्ट्रिय बजार सबै क्षेत्रमा वृद्धि देखिएको छ।
जीली अटो
जीली अटोले सन् २०२५ को पहिलो ६ महिनामा १४ लाख ९ हजार युनिट गाडी बिक्री गरेको छ। कम्पनीको बिक्री वृद्धि ४७ प्रतिशतले बढेको छ। यसको एनईभी बिक्री ७ लाख २५ हजार २०० युनिट पुगेको छ।
जीलीको ग्यालेक्सी सिरिजले मात्र ५ लाख ४८ हजार ४०० युनिट बिक्री गरेको छ। कम्पनीले आफ्नो वार्षिक लक्ष्य २७ लाखबाट बढाएर ३० लाख युनिट बनाएको छ।
चांगन अटो
हाल चांगन अटोको बिक्री ८ वर्षयताको उच्च बिन्दुमा पुगेको छ। ६ महिने अवधिमा चांगन अटोको १३ लाख ५५ हजार युनिट गाडी बिक्री भएको छ। जुन ८ वर्षयताकै उच्च हो। यसको बिक्री ६.८ प्रतिशतले वृद्धि भएको हो। एनईभीको बिक्री ४ लाख ५ हजार युनिट र विदेशमा ३ लाख युनिट बिक्री भएको छ।
चेरी ग्रुप
चेरी ग्रुपको सन् २०२५ को पहिलो ६ महिनामा १२ लाख ६० हजार १०० युनिट गाडी बिक्री भएको छ, जुन १४.५ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले ६ महिनामा गरेको १२ लाख ६ हजार युनिटमा आधा बिक्री विदेशमा गरेको छ। एनईभी बिक्री ९८.६ प्रतिशतले बढेर ३ लाख ५९ हजार पुगेको छ भने निर्यात बिक्री ५ लाख ५ हजार युनिट पुगेको छ।
ग्रेटवाल मोटर्स
सन् २०२५ को पहिलो ६ महिनामा ग्रेटवाल मोटर्सको वृद्धि सुस्त देखिएको छ। ६ महिनाको अवधिमा यसको बिक्री ५ लाख ६९ हजार ८०० युनिट भएको छ, जसमा एनईभी बिक्री १ लाख ६ हजार युनिट र विदेशमा १ लाख ९७ हजार युनिट रहेको छ।
ग्रेटवाल मोटर्सले जुनमा १ लाख १० हजार ७०० युनिट गाडी बिक्री गरेको छ। बिवाईडी र चेरीसँग तुलना गर्दा ग्रेटवाल मोटर्सको ग्रोथ सुस्त देखिएको छ।