काठमाडौं। नेपालगञ्जमा राइड सेयरिङ एप ‘नेपक्याब’ले आफ्नो सेवा सुरु गरेको छ। पहिलो राइड सेयरिङ एपका रुपमा ‘नेपक्याब’ संचालनमा आएको हो।
स्थानीय समूहद्वारा सुरु गरिएको यस एपमार्फत स्थानीय बासिन्दाले सहज, सुलभ र सस्तो दरमा ट्याक्सी सेवा उपयोग गर्न सक्ने छन्। नेपालीहरूले बनाएको राइड सेयरिङ एप ‘नेपक्याब’ स्थानीय एक समूह मिलेर संचालनमा ल्याएको हो। राइड सेयरिङ कम्पनी नेपक्याबले अन्य राइड सेयरिङ एप पठाओ र इनड्राभ जस्तै सेवा दिने भएको छ।
नेपालगञ्जमा राइड सेयरिङ सेवाको आवश्यकता महसुस गरेर नेपक्याब संचालनमा ल्याएको नेपक्याबका अध्यक्ष विजय भण्डारी बताउँछन्। ‘नेपालगञ्जमा राइड सेयरिङ सेवाको आवश्यकता महसुस गरेर हामीले नेपक्याब सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘नेपालगञ्जका जति पनि उपभोक्ता छन्। उनीहरुले सरल, सुलभ र सस्तो दरमा ट्याक्सी चढ्न पाउन भन्ने हिसाबले ल्याएको हो। हामीले नेपक्याबबाट ग्राहकलाई २४ घण्टा सेवा दिन्छौँ।’ एप अहिले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध भइसकेको उनको भनाइ छ।
केही दिनअघि मात्रै संचालनमा आएको नेपक्याबले हाललाई चार पांग्रे ट्याक्सी सेवा मात्र प्रदान गर्दै आएको छ। निकट भविष्यमा ‘नेपक्याब’ले दुई पांग्रे सवारी साधन (बाइक स्कुटर) सेवा पनि सुरु गर्ने योजना बनाएको छ। कम्पनीले विस्तारै दुई पांग्रे सवारीका लागि पनि रजिष्ट्रार गराउने र ग्राहकलाई सेवा दिने अध्यक्ष भण्डारी बताउँछन्। ‘यसको सर्भिस हामीले भर्खरै सुरु गरेका छौँ। प्ले स्टोर र एप्पल स्टोरमा यसको एप आइसकेको छ। यसलाई हामीले छिट्टै बजारमा लञ्च गर्ने तयारी गरेका छौँ,’ उनले थपे।
‘नेपक्याब’ नेपालीले बनाएको राइड सेयरिङ एप हो। नेपक्याब राइड सेयरिङ एप नेपालीले नै बनाएकाले अन्य राइड सेयरिङ एपको जस्तो पैसा बाहिर नजाने कम्पनीको भनाइ छ। नेपालगञ्जबाट सुरुवात गरेको नेपक्याब विस्तारै अन्य ठाउँमा पनि सञ्चालनमा ल्याउने योजना कम्पनीले बनाएको हो।

नेपालगञ्जबाट सुरु गरिएको नेपक्याब विस्तारै काठमाडौं, पोखरा, सुर्खेत, दाङ, धनगढी, बुटवल, भैरहवालगायत शहरमा विस्तारै सेवा संचालन गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए। हाल ट्याक्सी बुकिङ सेवा नेपालगञ्जमा मात्र सीमित भए पनि, यात्रुहरूले यसमार्फत काठमाडौं, पोखरा जस्ता अन्य शहरसम्म यात्रा गर्न सक्ने छन्।
‘नेपक्याबबाट ट्याक्सी बुक गरेर काठमाडौं, पोखरालगायतका ठाउँ पनि जान सकिन्छ। तर, ट्याक्सी बुकिङ नेपालगञ्जबाट मात्र हुनेछ। पठाओ र इनड्राइभमा भन्दा पनि यसमा हामीले अझै राम्रो फिचरहरु ल्याएका छौँ। हाल हामीले प्रयोग गरेको ट्याक्सी नेपाल सरकारले बनाएको ट्याक्सीको मापदण्डभित्र छ,’ भण्डारीले भने।
नेपक्याबको अर्थ नेपाल क्याब हो। यस एपको उद्देश्य नेपालभर सेवा विस्तार गर्ने भएकाले यस राइड सेयरिङ एपको नाम ‘नेपक्याब’ उनी बताउँछन्।