काठमाडाैं। बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। असार २९ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएकाे हाे।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूरपश्चिम प्रदेश, बझाङ्ग, बुङ्गल नगरपालिका वडा नं. ६ र वडा नं. ७ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।