काठमाडौं। नेपाल रिकण्डिसन अटो व्यवसायी संघको नवौं र दशौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि प्रबिन लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ।
महाधिवेशनमा विभिन्न संघ–संस्था, व्यावसायिक प्रतिष्ठान, व्यवसायी प्रतिनिधि, कानुनी सल्लाहकार, पत्रकार तथा निर्वाचन मण्डलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अटो व्यवसाय क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा भावी रणनीतिबारे छलफल गरेका थिए।
नवनिर्वाचित अध्यक्ष प्रबिन लामिछानेले व्यवसायीहरूले आफूलाई दिएको विश्वास र जिम्मेवारीलाई उच्च सम्मानका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ कार्यसमितिलाई उदाहरणीय र प्रभावकारी बनाउँदै व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवद्र्धन तथा संघको संस्थागत विकासका लागि विशेष पहल गर्ने बताए।
महाधिवेशनमा बोल्दै लामिछानेले साधारण सभा तथा महाधिवेशन सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, पत्रकार, कानुनी सल्लाहकार, निर्वाचन मण्डलका सदस्य तथा सम्पूर्ण व्यवसायी प्रतिनिधिप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रदीप राना, महासचिवमा कुमार बोगटी, सचिवमा अमित अधिकारी, सहसचिवमा डुक्पा घले, कोषाध्यक्षमा मनिषराज पाण्डे तथा सहकोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अर्जुन पौडेल, नवराज बिडारी, देवेन्द्रकुमार श्रेष्ठ, रुद्र ढुंगाना, सुरजप्रसाद नेपाल, विकास श्रेष्ठ, केशव निरौला तथा तीर्थबहादुर बुढाथोकी चयन भएका छन्।
महाधिवेशनले संघको आगामी कार्यदिशा तय गर्दै व्यवसायीहरूको एकता, व्यवसायिक अधिकारको संरक्षण, नीतिगत सुधारका लागि पहल तथा अटो व्यवसाय क्षेत्रको समग्र विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ कार्यसमितिले व्यवसायीहरूका साझा मुद्दा समाधान, सरकारी निकायसँग समन्वय तथा व्यवसायिक वातावरण सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्नेछ। महाधिवेशनले व्यवसायीहरूबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेको छ।