काठमाडौं। उपभोक्ता अदालतबाट एक करोडभन्दा बढी रकम क्षतिपूर्ति तिर्ने मुद्दा फिर्ता भएका छन्। चारपाङ्ग्रे सवारी साधान मर्मतमा भएको लापरबाही र ल्यापटपको गुणस्तरमा देखिएका समस्यामा परेको एक करोड २५ लाख ९१ हजार ५०० रुपैयाँको तिर्नुपर्ने क्षतिपूर्तिको उजुरी फिर्ता भएको हो।
क्षतिपूर्ति माग दाबी गरेका उजुरीकर्ताले आफू खुसी मुद्दा फिर्ता लिएका हुन्। सुनसरीका एक व्यक्तिले बाढीका कारण क्षति पुगेको सुजुकी ब्राण्डको गाडी मर्मतमा लापरबाही गरेको आरोप लगाउँदै सिजी होल्डिङ्स, सुजुकी सर्भिस सेन्टर र सूर्य अटोमोबाइल्स प्रा.लि.विरुद्ध उपभोक्ता अदालतमा उजुरी दर्ता गराएका थिए।
उजुरीकर्ताले २०८० साल असोजमा ६२ लाख ६९ हजार रुपैयाँमा खरिद गरेको गाडी २०८१ साल असोजमा बाढीले डुबानमा परेर नचल्ने भएको बताएका थिए। उनले गाडी मर्मत नगरी लामो समयसम्म होल्ड गरेर राखेको र बिना जानकारी इन्जिन खोलेर थप क्षति पुर्याएको दाबी गरेका थिए।
उनले गाडी सदुपयोग गर्न नपाएको र यसबारे स्पष्ट जानकारी पनि नपाएको गुनासो गर्दै एक करोड २५ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा गरेका थिए। तर, उनले यो मुद्दा फिर्ता लिएको उपभोक्ता अदालतले जनाएको छ।
यस्तै, गुल्मीका एक २४ वर्षीय युवाले आफूलाई न्युरोडस्थित न्यू ल्यापटप ट्रेडर्सले कम गुणस्तरको ल्यापटप बिक्री गरी ठगी गरेको भन्दै अदालदमा मुद्दा दायर गरेका थिए। उपभोक्ताहित संरक्षण मञ्चको सहयोगमा दर्ता गरिएको फिराद पत्रमा थापाले ल्यापटपको ब्याट्री क्षमताबारे गलत जानकारी दिइएको, फिर्ता गर्न खोज्दा दुर्व्यवहार गरिएको आरोप लगाएका थिए।
ती युवाले २०८२ वैशाख २ गते ७१ हजार ५०० रुपैयाँमा आसुस राइजेन ५ ल्यापटप खरिद गरेका थिए। बिक्रेताले ४-५ घण्टा ब्याट्री टिक्ने बताएका थिए। तर, परीक्षण गर्दा २/३ घण्टा मात्र टिकेको उनको थियो।
फिर्ता गर्न जाँदा पसल सञ्चालकले बेवास्ता गर्दै गालीगलौज गरेको उनको उजुरी पत्रमा उल्लेख छ। उनले पटक-पटक धाउँदा लागेको १० हजार रुपैयाँ र मानसिक तनावको १० हजार रुपैयाँ गरी कुल ९१ हजार ५०० रुपैयाँ क्षतिपूर्ति माग गरेर मुद्दा दयार गरेका थिए। यो मुद्दा उनले फिर्ता लागेका छन्।