काठमाडौं। पछिल्लो ३० दिनमा मनसुनजन्य विपद्बाट ५११ परिवार प्रभावित भएको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार गत जेठ १५ देखि असार १३ सम्मको अवधिमा विपद् घटनाबाट १२ जनाको मृत्यु भएको हो।
यो अवधिमा आगलागीका घटना २४७, वन डढेलो सात, हावाहुरी ४५, सर्पदंश २२, जनावर आक्रमण ४५ र लेक लागेका १५ वटा विपद् घटना भएका छन्।
प्राधिकरणकाअनुसार यीमध्ये आगलागीबाट तीन, हावाहुरीबाट एक, सर्पदंशबाट दुई, जनावर आक्रमणबाट आठ र लेक लागेर चार गरी १२ जनाको मृत्यु भएको छ । यसैगरी, यो अवधिमा ६३ जना घाइते भएका छन्। गत वर्ष यो अवधिमा बाढीपहिरो, भारी वर्षा र चट्यांकका ७४८ घटना घट्दा २६३ जनाको मृत्यु भएको थियो।
तथ्यांकअनुसार एक महिनामा यो अवधिमा कोसीमा ७२, मधेसमा चार, लुम्बिनीमा ४२, बागमतीमा ६८, गण्डकीमा ३२, कर्णालीमा २९ र सुदूरपश्चिममा १६ वटा मनसुनजन्य विपद् घटना भएका छन्।
मनसुनज्य विपद्बाट कोसीमा ८६, मधेसमा दुई, लुम्बिनीमा १८७, बागमतीमा १०२, गण्डकीमा ४६, कर्णालीमा ७४ र सुदूरपश्चिममा १४ गरी ५११ घर प्रत्यक्ष प्रभावित भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।