काठमाडौं। नेपालको उत्तरी छिमकीसँगको मुख्य व्यापारिक नाका रसुवागढीमा चीनतिरबाट आएको ठूलो वर्षासँगै उर्लिएको भोटेकोसीले दुई देश जोड्ने मितेरी पुल बगाएसँगै आयात–निर्यातमा अवरोध आउने देखिएको छ।
बाढीका कारण रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएपछि आयात–निर्यात ठप्प भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गए रातीको बाढीले पुल बगाएको र भन्सारको यार्ड (सुक्खा बन्दरगाहा)मा भन्सारपासका लागि राखिएका रहेका करिब १५० विद्युतीय गाडी (ईभी) बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको बताएका छन्।
सुक्खा बन्दरगाहमा काम गर्ने केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुन सक्ने भनिए पनि आधिकारिक जानकारी आइनसकेको उनले गृह मन्त्रालयलाई ब्रिफिङ गरेका छन्।
बाढीले ठूलो भौतिक क्षति पुर्याएको देखिएकाले घटनास्थलमै पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको उनले बताए।
त्यस्तै, सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) बाढीले बगाएको उनको भनाइ छ। ‘चीनतिरबाट आएको बाढीले ठूलो क्षति पुगेको छ। मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ,’ प्रजिअ पौडेलले भने।
बाढीमा फँसेकाको उद्धारका लागि गएका केही सुरक्षाकर्मी बीचमै अड्किए पनि अहिले उनीहरुको उद्धार गरिएको उनले जानकारी दिए।
भोटेकोसी उर्लिने संकेत देखिएकाले तल्लो तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। ‘केही मानिस गाडीमै रहेको आशंका गरिएको छ। पुष्टि नभए पनि गाडीमा रहेकालाई बाढीले बगायो कि भन्ने आशंका छ। क्षति ठूलो भए पनि तथ्यांक आउन बाँकी रहेको छ’, प्रजिअ पौडेलले भने।
उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइसकिए मौसम प्रतिकूल हुँदा आउन ढिलाइ भएको प्रजिअले पत्रकारलाई बताएका छन्।
केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बाहिरी संरचना पूर्ण रूपमा क्षति पुगेको छ। करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा पनि क्षति पुर्याएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल टिमुरेले दिएको जानकारी अनुसार आज बिहान करिब ३ः१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित मितेरीपुल नदीको तीव्र बहावले बीचबाट भाँचिएर बगाएको हो।
बाढीको कारण टिमुरेस्थित भन्सार यार्डमा पानी पसेको छ। यसले गर्दा केही लोड कन्टेनर डिब्बा बगाएको सशस्त्र प्रहरीले जनाएको छ।